पोखरा । दिवंगत पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले आज शोकाकुल घडीमा साथ दिनेहरुलाई सम्बोधन गर्नुभएको छ । यहाँले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गर्नुभएको हो ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका अधिकारीको सोमबार ७ दिनमा काजकिरिया पूरा भएको छ । सोमबार नै भएको श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन गर्नुभएको थियो । गला अवरुद्ध पार्दै उहाँले ‘हाम्रो परिवारप्रति हजुरहरुले गर्नुभएको जुन सम्मान छ, त्यसलाई भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर असमर्थताका बाबजुत पनि यहाँहरुसामू उपस्थित भएको छु भन्दा सबै भावुक बनेका थिए ।’ कतिपय त भक्कानिए नै ।

अहिले आफ्नो परिवारले मात्र नभई सिंगो देशले रवीन्द्रको अभाव व्यहोरेको महसुस भएको उहाँले बताउनुभयो । हाम्रो परिवारसँग देश छ, पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यही ढाडसले गर्दा यहाँहरुको अगाडि उभिरहेको छु र बोलिरहेको छु’ उहाँले यसो भनिरहँदा सबै भावविह्ल बने ।

अकल्पनिय दुुर्घटना व्यहोनुपर्दा आफूहरु दुःखी भए पनि पार्टीले रवीन्द्रको सपना र विचारलाई बोकेर अघि बढ्ने छ भन्ने विश्वास रहेको उहाँको आशा छ । ‘गुमेका कुराभन्दा पनि उहाँको विचार, अभिलाशा र उद्देश्यहरुलाई पुरा गर्न सिंगो पार्टी लाग्नेछ, सरकार लाग्नेछ’ उहाँले भन्नुभयो, ‘परिवार त एउटा सानो इकाइ हो । हाम्रो साथ पार्टीलाई रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

उहाँले रवीन्द्र अधिकारीको राजनीतिक जीवनमा आमाबाबु, भाइ र बहिनीको योगदानको चर्चा गर्नुभयो । आफूलाई पनि राजनीतिले नै रवीन्द्रसँग जोडेको भन्दै उहाँले पारिवारिक व्यवस्थापनमा अफ्ठ्यारो पार्न सक्छ भन्ने लागेर विवाहपछि प्राज्ञिक क्षेत्रमा लागेको बताउनुभयो । ‘उहाँको उत्कृष्ट, अब्बल र परिणाममुखी भएर अघि बढ्नुपर्छ भन्ने सोच थियो । त्यो सोचबाट आज हामीले उर्जा प्राप्त गरेका छौं’, अखिलको सचिवसम्म हुनुभएको उहाँ आफैमा राजनीतिज्ञ हो । विद्याले ‘रवीन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच परिवारले बनाएको भन्दै पार्टी र नेताहरुसँग सरसल्लाह गरेर बाँकी काम अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

सम्बन्धित खबरहरु