काठमाडौं । नेपालमा उच्च पदस्थ व्यक्तिहरुको सवारीमा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्टहरुको सवारीका लागि मंगलबार साँझ सडक खाली गराइएकोमा चालकहरुले हर्न बजाएर विरोध गर्नुका साथै अवज्ञा गरेका छन् । राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली सेनाले गरेको रात्रिभोजमा सैनिक मुख्यालय भद्रकाली जाने क्रममा लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै अवज्ञा गरेका हुन् ।

बेलुका ६ बजे महानगरीय ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै भनेको थियो ‘अबको केही समयमा विशेष कारणवश शितल निवास,पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन् । सो रुटमा संचालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ ।’

तर, लामो समयसम्म सडकमा रोकेर राखिएपछि यात्रुले तीव्र विरोध गरे । उनीहरुले हर्न निषेधित क्षेत्र काठमाडौंमा चर्को स्वरमा हर्न बजाए । एकजनाले भने ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ ।’ त्यसपछि सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाए । भिडियो हेर्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु