काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सेन्स अफ ह्युमरका बारेमा जानकारी नभएका सायदैं होलान । उहाँ समय र परस्थिती अनुसार व्यवहार गर्नुहुन्छ । यस्तै अहिले प्रधानमन्त्री ओलीको एक तस्विर सामाजिक सञ्जालमा एकदमै चर्चामा रहेको छ । गएको मंगलबार झापाको सुखानीमा शहीदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुग्नु भएको थियो ।

आमसभा नसकिँदै त्यहाँ स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो अनि शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।

करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर अचानक रोकियो । त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिन बाध्य भए । झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो । सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट आवाज आयो, ‘नातिनीलाई यता ल्याउनुस् त । ’

झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए हेर्दा थाहा भयो झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई देखेर आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्क पर्नुभयो । एकछिन त विश्वास नै गर्न सकेनन्, अक्क न वक्क पर्ने अवस्था देखा पर्न गयो । हजुर बा सँगैं अरु पनि मानिसहरु त्यहाँ जम्मा भएका थिए ।

प्रधानमन्त्री ओलीले दोहोर्याएर भन्नुभयो, ‘नातिनीलाई यता ल्याउनुस् त । ’ हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरसम्म लैजानु भयो । २८ महिनाकी पुष्पालाई प्रधानमन्त्रीले अँगालोमा लैजान खोज्नु भएको थियो तर सुरक्षकर्मी र विरानो देखेर ति नानी रुन थालिन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिनुभयो । १ हजार पाए पछि चाहिँ पुष्पा खुसी भइन्, थपक्क नोट समाइन् र मुसुक्क हासिन् । ओलीले पुष्पालाई नमस्कार गर्नुभयो, पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् । ओलीले हात हल्लाउदैं बाइबाई गर्नुभयो, पुष्पाले पनि बाइबाइ गरिन् । त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो । हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् । अहिले यो तस्विर खुबै चर्चामा छ ।

सम्बन्धित खबरहरु