काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।

आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उक्त विस्फोट नजिकै प्रहरी महानिरीक्षक (आइजीपी) को समेत घर रहेको बुझिएको छ ।

सम्बन्धित खबरहरु