चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो ।

आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने गुरुङले बताउनुभयो ।

पर्यटन विभागका अनुसार लाङटाङ र जुगल हिमशृङ्खलामा २६ टाकुरा रहेका छन् । जुगल हिमशृङ्खलामा मात्र ११ टाकुरा रहेको र सबैभन्दा अग्लो छ हजार ९७९ मिटर उचाइको ल्याङ्पो ग्याङ पिक ९टाकुरा० पर्दछ । गुरुङ र सहयात्री दुवैजना जिल्लाबासी हुन् । गुरुङले २०६५ सालमा १० सदस्यीय समावेसी महिला टोलीबाट सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । त्यसैगरी सातै महादेशको सबैभन्दा अग्ला हिमालको समेत उहाँले आरोहण गर्नुभएको छ ।

साविक गुम्बा र हाल जुगल गाउँपालिका–३ मा पर्ने उक्त हिमशृङ्खला आरोहण गर्न काठमाडौँदेखि गुम्बाको पाउलाडाँडासम्म यातायातको सुविधा छ । त्यहाँबाट ने–पेमासाल हुँदै प्रथम आधार शिविर पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्ने वडा सदस्य हिमाल तामाङले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु