खोटाङ । धेरैलाई थाहा भइसकेको कुरा हो चर्चित गायक राजेशपायल राईको जन्मथालो खोटाङ्ग हो । राई धेरैपछि आफ्नो गृहजिल्ला कन्सर्टमा पर्फम गर्न पुग्नुभयो । झमक्कै साँझ परेको थियो । दर्शकले कार्यक्रमस्थल खचाखच भरिएको थियो ।

दर्शकको थामी नसक्नु भीडलाई कार्यक्रम सञ्चालक रामधन बेदना र साहश राईले थम्थमाइ रहनुभएको थियो । त्यही बेला ‘दर्शन नमस्ते’ बोलको गीत गाउँदै मञ्चमा प्रवेश गर्नुभयो गायक राजेशपायल राई । संगीत क्षेत्रको बादशाह नै मानिनुहुने गायक राजेशपायल कार्यक्रमस्थल प्रवेश गर्नुअघिदेखि नै कार्यक्रममा सहभागी दर्शकले ‘राई ईज किङ’ हाई हाई राजेश दाइ आइ लभ यु जस्ता नारा लगाइ रहेका थिए ।

मञ्चमा प्रवेश गर्दा तालीको वर्षा पाउनुभएका गायक राजेशपायलले कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, पूर्व सभाषद् दुर्गाजयन्ती राई, नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, सुरक्षा निकायका प्रमुख लगायत अतिथिलाई गीतमार्फत नै सम्बोधन गर्नुभयो । गीत गाउँदा गाउँदै घुँडा टेकेर भुइँ ढोग्नुभएका गायक राजेशपायलले पहिलो शब्द निकाल्नुभयो, “मलाई सम्हालिन गाह्रो भइरहेको छ ।”

मञ्चको पछाडीपट्टी फर्किएर आँसु पुछेपछि फेरि एकपछि अर्को गीत लगातार गाउनुभयो । २५ वर्षपछि आफ्नो जन्मभूमी खोटाङ आउनुभएका गायक राजेशपायललाई दर्शकले पनि सँगसँगै गीत गाउँदै छमछमी नाचेर साथ दिए । दिक्तेलबजारको सरस्वती माविमा आयोजित कार्यक्रममा गायक राजेशपायलले संगीतकार महेश खड्कालाई पटक–पटक मञ्चमै बोलाएर आफूसँगै गीत गाउन लगाउनुभयो ।

एकपछि अर्को गीत गाउँदै सँगीतमय साँझ बनाउनुभएका गायक राजेशपायलले केटाकेटीदेखि सांसदसम्मलाई छमछमी नचाउनुभयो । कार्यक्रम अवधिभर वान्स् मोर, वान्स् मोरको ताली पाउनुभएका गायक राजेशपायलले अधिकांश खोटाङ जिल्लासँग सम्बन्धित गीतहरु गाउनुभएको थियो ।

साँढे दुई घण्टामा २४ वटा गीत गाउनुभएका गायक राजेशपायलले आफूप्रति जिल्लावासीले देखाएको मायाँ र सद्भावले सम्हालिन नसकेको बताउनुभयो । “म त साह्रै अभागी रहेछु ।” जिल्लावासीलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “मलाई जन्म दिएर यति धेरै मायाँ गर्ने आफ्नो जन्मथलोमा आउनलाई पनि जन्मकुण्डली नै हेर्नुपर्छ ।”

खोटाङको बुइपामा जन्मनुभएका गायक राजेशपायलले आफ्नो दौँतरीसँग अङ्कमाल गर्दै सँगै नचाउनुभयो । अहिलेसम्म अविवाहित रहनुभएका गायक राजेशपायलले आफूलाई आइ लभ यु भन्ने युवतीहरुलाई लक्षित गर्नुहुँदै विवाहको प्रस्ताव गर्दा एउटै पाछा (वंश) पर्न गएमा अप्ठ्योरो पर्ने बताउनुभयो ।

जिल्लाप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुहुँदै गायक राजेशपायलले पछिल्लो समय आफ्नो गृह जिल्ला पनि विकास निर्माणको हिसाबले अगाडि बढ्दै गएको प्रति खुसी व्यक्त गर्नुभयो । “मेरो अति सुन्दर जिल्ला विकास निर्माणको गतिसँगै सुरक्षित पनि छ ।” उहाँले भन्नुभयो, “सुरक्षित बनाउन सहयोग गर्नुहुने प्रमुख जिल्ला अधिकारी सहित सुबै सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्दछु ।” गाडीमार्फत खोटाङ आउनुभएका गायक राजेशपायलले आयोजकलाई मञ्चमै बोलाएर रु. एक लाख ५० हजारको चेक प्रदान गर्नुभयो ।

व्यक्तिगत खर्चमा खोटाङ आउनुभएका गायक राजेशपायलले पटक–पटक मञ्चबाटै आफ्नो बुबा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वसभापति रत्न राईको नाम लिनुभएको थियो । साइनो कला केन्द्र खोटाङले गत शनिबार आयोजना गरेको कार्यक्रममा गायक राजेशपायल आउनुहुने भएपछि खोटाङ तथा छिमेकी जिल्लावासी दर्शक तथा श्रोता उर्लिएको थियो । कार्यक्रममा गायक राजेशपायलको दाजु डिएस राई लगायत उहाँका आफन्तहरु समेत उपस्थित हुनुभएको थियो ।

कार्यक्रम प्राज्ञ वरिष्ट सँगीतकार शान्तिराम राई, सँगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई, गायक राई नविन, युवा गायक रेवत राई, लोकदोहोरी गायक धर्मराज पोखरेल, खोटाङ आईडल तेज राई लगायतले दिनभर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । कुना कन्दरामा लुकेर रहेको गायकी कलालाई प्रोत्साहन तथा अवसर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पुस्कल राई प्रथम हुनुभएको छ ।

जिल्लाका दश वटै स्थानीय तहमा पुगेर छनोट गरिएको ११८ जना सहभागीलाई पछि पार्दै पुस्कलले प्रथम ‘हलेसी साइनो स्टार–२०७५’को उपाधि चुम्नुभएको हो । उहाँले नगद रु. ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्रका साथै एउटा गीत रेकर्डिङ, एक वर्ष सँगीत कक्षा लिने अवसर प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु