विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकका जेम्स क्षेत्री, रेगन तथा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्यले एक बालिकालाई आफ्नै घरमा बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई उर्लाबारीस्थित घरमै लगेर रातभर बलात्कार गरेको घटना तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न आचार्यलाई भागेर मोरङकै मिक्लाजुङ गाउँपालिकामा पुगेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

‘गिफ्ट’ ल्याइदिएको छु भन्दै मोरङको कानेपोखरीमा बोलाएर आफ्नो मोटरसाइकलमा राखेर आचार्यले बालिकालाई आफ्नै घरमा पु¥याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार रेडियो कार्यक्रममार्फत बालिका र आचार्यबीच चिनजान भएको थियो । त्यही चिनजानका आधारमा आचार्य गत शुक्रबार बालिकालाई भेट्न भन्दै लेटाङमै पुगेको र त्यही क्रममा दुई जनाबीच पहिलो भेटघाट भएको प्रहरीको भनाइ छ । तिमल्सिनाका अनुसार भेटघाट भएको भोलीपल्ट शनिबार फोन गरेर ‘गिफ्ट’ ल्याइदिएको छु भन्दै आचार्यले कानेपोखरीमा बोलाएको अनुसन्धानका क्रममा खुलेको छ ।

कानेपाखेरीमा भेट भएपछि साथमा ‘गिफ्ट’ ल्याउन विर्सिएको भन्दै आचार्यले फकाएर आफ्नै घरमा पु¥याएर रातभर बन्धक बनाएर बलात्कार गरेको प्रहरीको भनाइ छ । घटना भएको रात आचार्यका घरमा परिवारका सदस्य कोही नभएको पाइएको छ । केही खानेकुरा मिसाएर पानीमा खान दिएपछि बालिका बेहोस भएको र त्यसपछि आचार्यले रातभर बलात्कार गरेको तिमल्सिनाले बताए ।

प्रहरीका अनुसार बलात्कारबाट पीडित भएकी बालिका मानसिक रुपमा विक्षिप्त बनेकी छिन् । जतिबेला पनि चिच्याउने, रुने र कराउने मात्रै गर्ने गरेको प्रहरीको भनाइ छ । बलात्कार पीडित बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका आचार्य विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जवरजस्ती करणीको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु