काठमाडौ । नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

सेचुरेटेड फ्याट अत्यधिकः
केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् । हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् । भारतको हैदराबादस्थित नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन (एनआईएन) का उप–निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवल तेलमा लगभग ९० प्रतिशत सेचुरेटेड फ्याट हुने बीबीसीलाई बताए । डा. माइकलले जुन अनुसन्धान गरे त्यसमा पनि यही तथ्य भेटियो । उनका अनुसार नरिवल तेलमा पाइने सेचुरेटेड फ्याट नौनीमा भन्दा धेरै हुन्छ । नरिवलमा ८६ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ भने नौनीमा ५१ प्रतिशत ।

हानी पनि, फाइदा पनिः
अब प्रश्न यो उठ्छ कि सेचुरेटेड फ्याटयुक्त खाना खाँदा कस्तो हानी हुनसक्छ ? वैज्ञानिकका अनुसार सेचुरेटेड फ्याटले शरिरमा गुड र ब्याड दुबै प्रकारको कोलेस्ट्रोललाई बढाउने गर्छ । तर दुबैले शरिरमा भिन्न असर देखाउने गर्छन् ।

डा. माइकल यसबारे भन्छन्, ‘जुन खानामा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ त्यसले हाम्रो रगतमा लो डेन्सिटी लिपोप्रोटिन (एनडीएल) को मात्रा बढाउने काम गर्छ । एलडीएललाई नै ब्याड कोलेस्ट्रोल भनिन्छ ।’ एलडीएलको मात्रा जब धेरै हुन्छ तब यसले हाम्रो धमनीमा रक्त प्रवाह रोकिने खतरा बढ्ने गर्छ । यस्तै, अर्कोतर्फ त्यही सेचुरेटेड फ्याट हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) जसलाई गुड कोलेस्ट्रोल भनिन्छ, त्यसको मात्रा पनि बढाउने गर्छ । एचडीएललाई गुड कोलेस्ट्रोल यसकारण भनिन्छ किनभने यसले हाम्रो शरिरको विभिन्न हिस्सामा भएको कोलेस्ट्रोललाई कलेजोमार्फत् लैजाने गर्छ त्यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरिरबाट बाहिर निकाल्ने गर्छ ।

नरिवलको तेल खाने कि नखाने ?
डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल खाँदा स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन ।’ यही कुरा डाक्टर माइकलको रिपोर्टले पनि बताउँछ । बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मी, आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज युनिभर्सिटीका दुई प्रतिष्ठित शिक्षाविद् के–टी खाँ र निता फारोहीसँग सम्पर्क गर्यो । यो कार्यक्रममा ५० वर्षदेखि ७५ वर्षको उमेरमा ९४ मानिसहरुलाई तीन समूहमा बाँडियो । यीमध्ये कसैलाई पनि मधुमेह र मुटुरोग थिएन । तीनै समूहलाई चार हप्तासम्म विभिन्न प्रकारको तेल खुवाइयो । शर्त यो थियो कि एउटा समूहले चार हप्तासम्म एउटै तेलको सेवन गर्नुपर्दथ्यो ।

चार हप्तापछि जुन समूहले बटरको सेवन गरेका थिए उनीहरुको शरिरमा ब्याड कोलेस्ट्रोलको मात्रा १० प्रतिशत वृद्धि भएको पाए साथै गुड कोलेस्ट्रोल पनि पाँच प्रतिशत बढेको थियो । जुन समूहले ओलिभ ओइल (जैतुनको तेल) को सेवन गरे उनीहरुको शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर थोरै कम भयो । तर सबैभन्दा अचम्मित गरिदिने नतिजा नरिवलको तेल सेवन गर्ने समूहमा पाइयो । यो समूहका मानिसहरुमा ब्याड कोलेस्ट्रोलको मात्रा धेरै त होइन तर गुड कोलेस्ट्रोलको मात्रा लगभग १५ प्रतिशतसम्म बढ्यो । यसको यो भन्न सकिन्छ कि नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुन्छ ।

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरिरमा मेटाबोलिजम पनि बढाउँछ ।’ त्यसो भए नरिवलको तेल विषालु कसरी भयो ? यदि नरिवलको तेलले हाम्रो शरिरमा ऊर्जा बढाउँछ र मुटुको लागि पनि राम्रो हुन्छ भने यो तेललाई विषालु किन भनियो ?

डा. अहमद यसको पनि जवाफ दिन्छन्, ‘यदि कसैले नरिवलको तेल मात्र प्रयोग गरिरहेका छन् भने यसले शरिरमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक बढाउने गर्छ जसका कारण यो हानिकारक हुनसक्छ । त्यसैले विभिन्न प्रकारको तेलको सेवन गर्ने सल्लाह दिइन्छ ।’ बीबीसी प्रोग्रामबाट निस्किएको नतिजाले क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक खाँलाई अचम्मित तुल्याएको छ । उनले भने, ‘यो नतिजा कसरी आयो यसको स्पष्ट अनुमान छैन । हुनसक्छ नरिवल तेलमा पाइने सेचुरेटेड फ्याटमा लोरिक एसिड हुन्छ जसको असर रगतमा पर्छ ।’ नरिवलको तेल हाम्रा लागि पूर्ण रुपमा स्वस्थबर्धक छ वा पूर्ण रुपमा हानिकारक, दुबै विचार आफैंमा अधुरो छ । खानामा नरिवलको तेल मात्र प्रयोग गर्दा यसले हाम्रो शरिरलाई अन्य तत्वबाट टाढा राख्न सक्छ ।

सम्बन्धित खबरहरु