भोजपुर . पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । शेयर प्रभु बंैक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरीद गर्न सकिने अधिकृत राईले जानकारी दिनुभयो ।
हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

अग्निपीडितलाई राहत
पौवादुङ्मा गाउँपालिकाले अग्निपीडितलाईलाई राहत वितरण गरेको छ । गाउँपालिकाले गत फागुन २८ गते आगलागीमा परी पूर्णरुपमा घर जलेर नष्ट भएका वडा नं –५ सानोदुङमा चौकीबारीका पीडित चितमान राई, मनकुमार राई र बद्रसिंह राईलाई राहत वितरण गरेको हो । गाउँपालिकाले अन्नपात र भाँडाकुँडासंँगै क्रमशः रु नौ हजार, १० हजार र आठ हजार सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । गाउँपालिकाको विपत व्यवस्थापन कार्यविधिअनुसार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । आगलागीमा परी तीन घर जल्दा रु १५ लाख वढीको क्षति भएको थियो ।

सम्बन्धित खबरहरु