काठमाडौं । हामीले समाज बदल्ने चर्का भाषण सुनेका छौं । महिला अधिकारीका लागि सायद नेपालमा मात्र नभई विश्वमा धेरै भाषण भएको हुनुपर्छ । मजदुरका पक्षमा पनि चर्का नारा नभएका भने होईनन् । हाम्रो भनाई र गराई धेरै फरक छ । समाजमा केही फरक सोचका साथ कोही आउँछ भने समाज त्यसलाई स्विकार गर्न सक्दैन त्यो फरक पाटो हो तर चुपचाप हेर्न सम्म सक्दैन बहिस्कार गर्न थाल्छ ।

पछिल्ला दिनहरुमा नेपालमा सबैभन्दा धेरै महिलाहरुको आवाज उठ्ने गर्दछ । महिलाहरुले अधिकार पाउँन सकेनन् भन्ने कुरा ठुलो मुद्धा भएको छ । हो, महिलाहरुले अधिकार पाउँन सकेका छैनन, तर अधिकारका लागि महिलाहरुले के कुरामा पहल गरेका छन् । आफुलाई पुरुष बराबर वा त्यो भन्दा माथिल्लो हैसियतको भएको कुरालाई पुष्टि गर्न महिलाहरु कत्तिसम्म व्यवहारिक छन् ? यो पनि एक प्रमुख प्रश्न हो । यसैं विषयमा लामो समय देखि सामाजिक क्षेत्रमा लाग्नु भएकी कामना न्यौपानेले अत्यन्तै सुन्दर विचार लेख्नु भएको छ ।

‘टिकट लिन जाने होइन ?’, ‘उज्यालो भएको नै हुन्न, फेरि गएर पनि लाइनमा बस्न कति दुःख हुन्छ, केटी मान्छे । गाउँको एउटा दाइलाई भनेको छु, ल्याइदिन्छु भन्नु भाको छ ।’ वर्षेनी दशैंको लागि गाडी टिकट खुल्ला भएपछि हुने संवाद हो यो । टिकट लिने दिन टिकट काउन्टरमा बिहानै लाइन लागिसकेको हुन्छ, जहाँ छिटफुट मात्रामा मात्र महिलाहरु देखिन्छन् । यस्तो उपस्थिति विश्वविद्यालय, क्याम्पस, प्रशासनिक कार्यालय जहाँतहीँ देख्न सकिन्छ ।

लाइनमा उपस्थित रहेका अधिकांश महिलाहरुको काम पुरुष साथीहरुले गरिदिईरहेका हुन्छन् । यहाँनिर एउटा प्रश्न उठ्छ, आफ्नो लागि टिकट लिन, एउटा फारम भर्न आफै आँट गर्दैनौं भने कसरी जिन्दगीमा शिर उठाएर बाँच्ने आश गर्न सक्छौं ? मानिसले जन्मिदैमा सबै ज्ञान लिएर आएको हुँदैन । हुर्किदै जाँदा उसले वातावरण अनुसार विभिन्न क्रियाकलापहरुलाई आफ्नो रुचीको रुपमा विकास गर्दै प्राथमिकता दिंदै जान्छ ।

रुची राखेका र प्राथमिकतामा पारेका कुराहरुको बढी भन्दा बढी ज्ञान हासिल गर्न थाल्छ । नेपाली संस्कारमा महिलाहरुलाई घरभित्रको काम र पुरुषहरुलाई घर बाहिरको काम छुट्याईयो । सोहि अनुरुप प्राथमिकताहरु छुट्टिए र उनीहरुको ज्ञानको दायरा फरकफरक भयो । यसले गर्दा महिलाहरुले बाहिरी दुनियाँको ज्ञान हासिल गर्न पाएनन् ।

अघिल्ला पुस्ताहरुको विद्रोहले अहिले हामी एक पाईला बाहिर निस्किसकेका छौं । हामीसँग शिक्षा, सूचना र बाहिरी दुनियाँसँगको पहुँच छ । तर, के हामीले यो अवसरको सदुपयोग गरिरहेका छौं ? अघिल्लो पुस्ताले हामीलाई घरदेखि बाहिर निस्कने वातावरण त दियो तर हिंड्नको लागि हामीले पाईला चालिरहेका छौं त ? कि अझै कोहि डोहोर्याएर हिंडाउने मान्छेकै खोजीमा अलमल्लिरहेका छौं ?

मलाई अचम्म लाग्छ, केटी साथीहरुको समूहमा गफ हुँदा, एउटी साथीले भन्छे, ‘मेरो ब्वेफ्रेन्डले भनेको,त्यो राजनीतिक पार्टी त यस्तो हो रे नि ।’ अर्की साथीले भन्छे, ‘मेरो बूढोले भन्नु भएको, त्यो विषय पढ्न राम्रो हुन्न रे ।’ त्यस्तै अर्की साथीले भन्छे, ‘मेरो बुवाले भन्नुभएको, एनजीओमा काम गर्ने केटीहरु त खत्तम हुन्छन् रे ।’ हामी कहिलेसम्म यो ‘रे’ मा बाँच्ने हो ? कहिलेसम्म पुरुष पात्रलाई सर्वज्ञानी र आफैलाई अज्ञानी सावित गरिरहने हो ?

हामी टेलिभिजन र इन्टरनेटमा व्यस्त हुन्छौं, तर उही अनुत्पादनशील श्रृगार सम्बन्धि र टेलि सिरियलहरूमा । समाचार, राजनीति, खेल, अर्थ जस्ता विषयहरुलाई हामीले पुरुष कार्यक्रमहरुको ट्याग भिराइदिएका छौं । त्यसैले त सानो भन्दा सानो जानकारीको लागि पनि हामी पुरुषमाथि निर्भर रहन्छौं । महिला सम्बन्धि मुद्दा, नियमसँग नै हामी अनभिज्ञ रहन्छौं र उही पुरुष पात्रको सहायता लिन्छौं ।

‘घरमा धारा बिग्रेको छ, बनाउनलाई कोही केटा मान्छे छैन ।’ अनि घरमा कोहि केटा मान्छे छ तर त्यो काम उसलाई आउँदैन भने पनि उसलाई पुरुष हुनुको इज्जत जोगाउनकै लागि भएपनि त्यो काम गर्न लगाउँछौं । कामलाई पनि हामीले लैंगिक परिचय भिराईदिएका छौं । मेकानिकल काम पुरुषहरुले गर्भमै सिकेर त आउंदैनन होला । हामीलाई आवश्यक हुने यी सानातीना काममा परनिर्भर हुनुभन्दा आफै सिक्न कसो नसकिएला ?

‘डेटमा जाने भनेको, गर्लफ्रेन्डलाई खाजा ख्वाउने पैसा छैन ।’ सामाजिक सञ्जालमा पुरुष मित्रहरुले धेरै पोस्ट गर्ने मध्येको वाक्य हो यो । डेटमा गएका जोडी हुन् वा साथी साथीबीचको भेटघाटमा आउने बिल, पुरुष साथीले तिर्ने गर्छन् । धेरैजसो महिलाहरुले बिल तिर्नु पुरुष साथीको कर्तव्य ठान्छन् । त्यसैले यो कुरालाई पुरुषहरुले आफ्नो ईज्जतसँग जोडेर लिन्छन् ।

यो परनिर्भरताको पाटो हो । हामीले जागिर वा व्यवसायबाट आर्थिक आम्दानि गरिरहेका छौं भने पनि यो संस्कारले हामीलाई परनिर्भर बनाईरहेको छ । यो संस्कारले पुरुषको लागि महिला जिम्मेवारी वा बोझ हो भन्ने आभास गराउँछ । यसले गर्दा पुरुषले महिलामाथि आफ्नो हक जमाउँछन् । र,सँगै खाजा खाएका हामीले खाजाको बिल ‘म तिर्छु’ भन्ने हिम्मत जब निकाल्छौं, तब मात्र त्यहाँ आर्थिक आत्मनिर्भरता हुन्छ ।

वैवाहिक सम्बन्ध गाँसिसकेपछि पनि प्रत्येक सानादेखि ठूला आर्थिक कारोबारमा आफ्नो आर्थिक क्षमता अनुसारको साझेदारी निभाउन सक्नुपर्छ । त्यो हाम्रो स्वाभिमान र स्वतन्त्रताको तत्व हो । उच्च शिक्षा हासिल गर्नु, जागिर गर्नु र आरक्षण कोटा पाउनु महिला सशक्तिकरण होइन । त्यो त महिलालाई घरबाहिर निकाल्ने आधार खुड्किलो मात्र हो । अहिलेको पुस्ताका हामीले त्यो खुड्किलो टेकेर बाहिर निस्किसकेका छौं ।

अब हामीले आत्मनिर्भरतामा जोड दिनुपर्छ । कसैको औंला र मार्गनिर्देशनको ईशारा बिना आफ्नो चेतना, स्वेच्छा र स्वनिर्णयले अगाडिको बाटो हिंड्ने कसरत गर्नुपर्छ । हामी जिन्दगी जिउनको लागि पुरुषको हात र साथ अपरिहार्य हुने महिला होइन कि पुरुषको जीवनमा आवश्यक सहयात्री बनौं । हामीले निकालेको हिम्मतले हामीपछिको पुस्ताले रुपान्तरित सामाजिक संरचना पाउनेछ ।

सम्बन्धित खबरहरु