डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्यटन पदमार्गका लागि भित्रिएका अधिकांश योजनामा अनियमितता हुने गरेको पाइएको छ। मुड्केचुला गाउँपालिकाअन्तरगत पर्ने कालिका, रिडिङ, इल, सुर हुँदै नर्कु जोड्ने पर्यटकीय पदमार्गको योजनामा कामै नगरी नक्कली कागज र वडाध्यक्षको किर्ते सही गरी पेस्की निकासा हुने गरेको खुलेको छ।

संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।

मुड्केचुला गाउँपालिकाको कालिकादेखि नर्कुसम्मको पर्यटन पदमार्ग निमार्णमा पनि नक्कली उपभोक्ता समिति र वडा अध्यक्षको किर्ते सही र रकम निकासा भएको भेटिएको छ। गत पुस २५ गते पार्टी एकतामा भेला भएका नेकपा डोल्पाका कार्यकर्ताले पदमार्ग निर्माणमा भेला नै नभएको किर्ते तस्बिर राखेर डिभिजन वन कार्यालय गई सरस्वती गिरीको नाममा सम्झौता गरी मुड्केचुला १ का वडाध्यक्ष भानुभक्त बोहोराको समेत किर्ते सही बनाएर पेस्की रकम निकासा गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

कालिका देखि नर्कु सम्मको पर्यटन पदमार्ग निमार्णको लागि ३५ लाख रुपैया विनियोजन भएको छ। त्यस्तै वडा ४ का अध्यक्ष जगबहादुर बुढा पनि डोल्पामा नभएको समयमा फागुन १० गतेको मिति राखेर नक्कली सिफारिस गरिएको कागज बनाएर डिभिजन कार्यालयमा पेस गरिएको पाइएको छ। उक्त नक्कली सिफारिसका आधारमा निकासा भएको रकम फिर्ता गराउन र बाँकी रकम रोक्का गर्न गाउँपालिकाले परिपत्र गरिसकेको अध्यक्ष दत्तबहादुर शाहीले बताए।

जिल्लामा २३ वटा गाविस हुँदा पनि एउटा गिरोहले काठमाडांैमै बसेर जिल्लाका २३ वटै गाविसका छाप र लेटरप्याड बनाई किर्ते कागजको भरमा डोल्पाका योजना सम्पन्न भएको भन्दै केन्द्रबाटै रकम भुक्तानी लिने गरेको थियो। नागरिक दैनिकमा खवर छ ।

सम्बन्धित खबरहरु