काठमाडौं । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

सरकारी निकायमा जताततै विकृति र विसङ्गति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्थामै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् ।

बिरामी भएर निजी अस्पतालमा उपचारका लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तको भनाइ छ ।

पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप छ ।

बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य भएको बिरामी कुरुवा बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला रु’ नेपालगञ्ज–१० का गोपाल खत्रीले भन्नुभयो, “जताततै लापरवाहीभन्दा केही भेटिदैन ।”

सम्बन्धित सरकारी निकायबाट अनुगमन गरिएको छैन् । दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ ।

‘बिरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, बिरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भन्नुभयो । एउटा बिरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसब्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ ।

तर, बिरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि बिरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक बिरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।” अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु