काठमाडौं । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए ।

अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यहरुले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ ।

जर्जियाको तल्लो संसदले “मुटुको चालसम्बन्धी विधेयक” पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल ६ हप्तामा थाहा हुन्छ । कतिपय गर्भवती आमाहरुलाई ६ हप्तासम्ममा आफ्नो पेटमा बच्चा छ भन्ने समेत थाहा हुँदैन ।

“जर्जियाले प्राण वा जीवनलाई महत्व दिन्छ । हामी निर्दोष र आवाजविहीनको पक्षमा छौं,” गभर्नर ब्रायन केम्पले बताउनुभयो । रिपब्लीकन पार्टीका गभर्नर केम्पले सांसदहरुलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा उक्त कुरा उल्लेख छ । अमेरिकाको ठूलो मानव अधिकार समूह अमेरिकी नागरिक स्वतन्त्रता यूनियन ९एसीएलयू० ले जर्जिया राज्यको उक्त कदम विरुद्ध अदालतमा चुनौती दिने जनाएको छ ।

“गभर्नर केम्पले उक्त विधेयकमा लालमोहर लगाए हामीसँग एउटा मात्र विकल्प छः अदालतको ढोका घच्घच्याउने,” एसीएलयूका कार्यकारी निर्देशक आन्द्रे योङले बताउनुभयो । अमेरिकी सर्वोच्च अदालतले सन् १९७३ मा एक आदेश मार्फत देशब्यापी रुपमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।

सन् २०१७ मा राष्ट्रपतिको कार्यभार सम्हालेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा दुई जना दक्षिणपन्थी विचारधारा राख्ने न्यायाधीश नियुक्त गरिसक्नु भएको छ । अधिकारकर्मीहरु विगतको त्यस अधिकारलाई सर्वोच्च अदालतले उल्ट्याउने सम्भावना रहेको भन्दै चिन्तित भएका छन् ।

रिपब्लीकन पार्टी र राष्ट्रपति ट्रम्प गर्भपतनको विपक्षमा छन् । रिपब्लीकन पार्टी र यसका समर्थकहरु “जीवनको अधिकार” को पक्षमा उभिएका छन् भने डेमोक्र्याटिक पार्टी “छनौटको अधिकार” को पक्षमा छन् ।

अमेरिकाको जर्जिया राज्य फिल्म र टेलिभिजन उत्पादनका लागि प्रमुख गन्तव्य हो । दर्जनौं हलिउड कलाकारले महिला विरुद्धको यस कानुनका कारण आफ्नो व्यवसाय अन्यत्र राज्यमा लैजाने भन्दै चेतावनी समेत दिएका छन् ।

कलाकारहरु अलिसा मिलानो, अलेक बाल्डवीन, आमी शुमर, बेन स्टिलर, सराह सिल्भरम्यान, मिया फारो समेतले सांसदहरुलाई पत्र लेखी महिलाका लागि सुरक्षित राज्यहरुमा आफ्ना उद्योग व्यवसाय स्थानान्तरण गर्न बाध्य हुने बताएका छन् । एएफपी

सम्बन्धित खबरहरु