काठमाडौं । केही दिन पहिले एक साता अमेरिका भ्रमण सकेर आउँनु भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि नयाँ खुलासा गर्नुभएको छ । उहाँले आफुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकामा पक्राउ गर्न लगाएको आरोप लगाउँनु भएको छ ।

सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताउनुभयो ।

अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले जानकारी दिनुभयो । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको भन्दै सबैलाई मिलेर जान आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ ।

तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” नेपाललाई गरिब देशको रुपमा नभई विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अमेरिका जाँदा भएको प्रशंगलाई कोट्याउँदै उहाँले भन्नुभयो, “एउटा नेपालीले नै मलाई हत्याराको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?”

आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराउनुभयो । आफू डराएर यो अनुभव सुनाएको नभई श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका अनुभव सुनाउँनु भएको हो ।

उहाँले भन्नुभयो, “मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।” प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु