काठमाडौं । विश्व इतिहासमा विमान दुर्घटना एकदमै ठुलो चुनौती हो । तीन साताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमानमा अन्तिम समयमा के भएको थियो भन्ने विवरणहरू प्राप्त हुन थालेका छन् ।

विमानको एन्टिस्टलिङ प्रणालीमा भएको समस्या कारण सो दुर्घटना भएको बताइन्छ । सो दुर्घटनामा नेपालकी एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो ।

इथियोपियाको आदिस अबाबाबाट नाइरोबी उड्नेबित्तिकै जमिनबाट १३७ मिटर माथि पुग्दा नै बोइङ ७३७ म्याक्स ८ मोडलको सो विमानको चुच्चो तल निस्किएको थियो । वाल स्ट्रीट जर्नलका अनुसार एक विमानचालकले रेडियो सम्पर्क विच्छेद हुनुअघि ‘पिच अप, पिच अप अरूलाई भनेको सुनिएको थियो ।

अर्थात् चालकदलले विमानको चुच्चोमा भएको समस्या थाहा पाएर त्यसलाई सही ठाउँमा ल्याउने प्रयास गर्न खोजेको हुनुपर्छ । उडेको छ मिनेटभित्रै विमान दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनाबारे भइरहेको अनुसन्धानसँग निकटस्थ व्यक्तिहरूसँग कुरा गरेको भन्दै वाल स्ट्रील जर्नलले आफूले पाएको सूचनाले विमानभित्र गम्भीर त्रुटि भएको थाहा पाएपछि चालकदल त्यसबाट अत्तालिएको सङ्केत पाइएको जनाएको छ।

इथियोपिया र अमेरिकामा भएका अनुसान्धानबारे चुहिएका सूचनाका अनुसार दुर्घटना हुँदा स्वचालित एन्टिस्टल प्रणाली सक्रिय भएको पाइएको थियो ।

गत महिना सोही मोडेलको विमान इन्डोनेशियामा दुर्घटनामा पर्दा उडानलाई नियन्त्रण गर्ने मन्युभ्रिङ क्यारिक्टरिस्टिक्स ओग्मेन्टेशन सिस्टम (एमसीएएस)मा पनि समस्या भएको बताइएको थियो । जकार्ताबाट उडेको लायन एअरको सो विमान उडेको केही बेरमै दुर्घटनामा पर्दा विमानमा सवार सबै १८९ जनाको ज्यान गएको थियो ।

सो दुर्घटनाबारे भएको अनुसन्धानले एन्टिस्टल प्रणालीले राम्ररी काम नगरेको र विमान समुद्रमा खस्नुअघि विमानको चुच्चो २० चोटिभन्दा बढी तल निस्किएको देखाएको थियो ।

इथियोपियाली अधिकारीहरूले यी दुई विमान दुर्घटनामा 'स्पष्ट समानता' देखिएको बताइसकेका छन् । सञ्चारमाध्यममा चुहिएर आएका जानकारीबारे इथियोपियन एअरलाइन्स र सरकारी अधिकारीहरूले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

इथियोपिया र इन्डोनेशियामा ठूला दुर्घटना भएपछि बोइङ ७३७ म्याक्स मोडलका विमानको सुरक्षाबारे प्रश्न उठेको छ । सो मोडलका सबै विमानहरू संसारभरि उडानबाट हटाइएका छन् ।

बोइङ कम्पनीले आफ्ना विमानमा प्रयोग हुने सुरक्षाप्रणालीलाई अद्यावधिक गर्न नयाँ सफ्टवेअर बनाएको छ । विमानमा जडित सेन्सहरूबाट विरोधाभासपूर्ण सङ्केत प्राप्त भए सो सफ्टवेअरले एमसीएएसलाई निष्क्रिय पारिदिन्छ ।

यो सुधारअन्तर्गत बोइङले ७३७ म्याक्स मोडलका सबै विमानमा थप अर्को चेतावनी दिने प्रणाली हालिदिनेछ । सेन्सरहरूबाट अमिल्दो सङ्केत आए विमानचालकलाई सतर्क बनाउने यो प्रणाली ती विमानहरूमा अनिवार्य रूपमा जडित हुँदैनथे ।

दुर्घटनामा परेका दुवै विमानमा पनि यो अतिरिक्त चेतावनी प्रणाली थिएन । यो सुधारबाट चालकले विमानलाई पुनस् नियन्त्रणमा लिन खोजे एमसीएएसलाई आफैँ सच्याउन दिनेछैन । बोइङले चालकहरूलाई सो मोडलको विमानका विभिन्न प्रणाली र कार्यविधिबारे राम्रो ज्ञान होओस् भनेर तालिममा संशोधन गर्दैछ ।

गत हप्ता बोइङले प्राविधिक सुधार गर्नुको अर्थ पहिला भएको प्रणालीका कारण दुर्घटनाहरू भएको स्वीकारोक्ति गरिएको हैन भनेको थियो । अनुसन्धानकर्ताहरूले इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाका कारणहरू पत्ता लगाइसकेका छैनन् ।

तर प्रारम्भिक प्रतिवेदन केही दिनमा प्रकाशित हुने अपेक्षा गरिएको छ । दुर्घटनापछि बोइङले आफ्नो छवि सुधार्ने प्रयाग गरिरहेको छ। उसले ७३७ म्याक्स मोडलका विमानहरू सुरक्षित रहेको दाबी गर्ने गरेको छ । बीबीसी

सम्बन्धित खबरहरु