गौरादह झापा / तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फलेका छन् । कुनै तरकारी समयअघि नै फलाउनुभएको छ भने कुनै मौसम गएपछिका छन् ।

खेतमा बेमौसमी बन्दाकोपी, टमाटर, फर्सी, लौका, बोडीलगायतका तरकारी बाली लगाइएको छ । यसरी लगाएको बेमौसमी तरकारी खेती पूर्ण रूपमा अर्गानिकसमेत रहेको दाबी छ । यस्तै तरकारी खेतीबाट एकपटकमा नै झन्डै डेढ लाख रुपयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

चार वर्षदेखि आफ्नो खेतबारीमा रासायनिक विषादीको प्रयोग बन्द गरिएको जानकारी दिँदै घिमिरेले भन्नुभयो, यस्ता तरकारीको भाउ पनि राम्रो हुन्छ । मानिसको स्वास्थ्यमा समेत लाभदायक छ । खेतीका लागि घरमा नै विभिन्न जैविक वस्तु मिसाएर जैविक विषादी मात्र प्रयोग गर्दै आएको उहाँको दाबी छ । खेतमा तरकारी जसरी फलेजस्तै गायत्राको जाँगरसमेत सबै किसानलाई उत्साहित बनाउने खालको छ ।

चैतको टन्टलापुर घाममा पनि बारीमा बन्दाकोपी गोडिरहनुभएकी घिमिरे भन्नुहुन्छ, केही अघिसम्म बन्दाकोपी नबिकेर धेरै किसानले गाईबस्तुलाई खोले पकाएर दिएकी थिएँ । बिक्री भएका तरकारीको समेत उचित मूल्य पाइएको थिएन तर अहिले अर्गानिक बेमौसमी तरकारी खेती गर्न थालेपछि यस्तो कुनै समस्या आएको छैन ।

उहाँ मात्र होइन सोही स्थानका तिलक घिमिरेले समेत बेमौसमी अर्गानिक खेती गर्नुभएको छ । उहाँले सात कट्ठा जग्गामा तरकारी खेती लगाउनुभएको छ । उहाँहरू जस्तै धेरै जना किसान मिलेर सोही स्थानमा एक बिघा क्षेत्रमा सामूहिक बेमौसमी अर्गानिक तरकारी खेती सुरु गरिएको घिमिरेको भनाइ छ । हामीले बिक्री गर्न बजारमा समेत लानु पर्दैन ।

खेतमा नै आएर राम्रो मूल्यमा बिक्री गर्न पाइरहेका छौँ, अर्का स्थानीय किसान पुण्य घिमिरेले भन्नुभयो । केही अघिसम्म बजारमा १० रुपयाँ प्रतिकेजीमा समेत बन्दाकोपी बिक्री भएको थिएन तर हामीले २५ देखि ३० रुपियाँ प्रतिकेजीका दरले खेतबाट नै बिक्री गरिरहेका छन् । अन्य तरकारीको दामसमेत अन्य सिजनको भन्दा झन्डै दुई गुणा बढी मूल्य किसानले नै पाइरहेका छन् । खेतीमा कीराको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायसमेत अपनाइएको छ ।

सम्बन्धित खबरहरु