काठमाडौं । नेपालमा राम्रो रोजगारीको अवसर नहुँदा हरेक दिन हजारौंको संख्यामा नेपालीहरु विदेश जान वाध्य भएका छन् । सरकारले नेपालमा रोजगार दिने भनेर विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभाव पर्न सकेको देखिएको छैन । यो बिचमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताउँनु भएको छ । आज राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताउँनुभयो ।

नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’ उहाँका अनुसार, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष प्रचण्डले व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने बताउँनुभयो । विकास परिषद बैठक विगतको निरन्तरता मात्र हुन नहुने भन्दै प्रचण्डले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने जनाउँनु भएको छ ।

विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्दछ । हाम्रो योजनाले, हाम्रो बजेटले, हाम्रो कार्यक्रमले ।’

सम्बन्धित खबरहरु