काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर एकदमै भाइरल भइरहेको छ । चर्चित गायिका अञ्जु पन्तले तराईमा आएको हावाहुरी पिडितलाई राहतको नाममा बाइबल दिएको भनेर प्रचार गरिएको छ । उनी हिन्दु धर्मबाट इसाईमा प्रवेश गरेपछि उनीमाथि एक पछि अर्को गर्दै आक्रमण भइरहेको छ । अहिले भाइरल भएको यो तस्वीर अहिलेको भने होईन् ।

अहिले प्रचार गरिएको तस्वीर उनको फेसबुक पेजमा पनि ५ डिसेम्बर २०१८ मै पोष्ट भएको छ । हजारौं नेपाली गीतमा स्वर दिएकी अञ्जु क्रिस्चियन धर्म अंगालेदेखि नै विवादमा आएकी हुन् । अञ्जुले आफ्नो नाममा फाउन्डेसन खोलेकी छन् । सो फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्नलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

भूकम्प पीडित, बाढीपीडित, आर्थिक रूपले विपन्न दुर्गम गाउँबस्तीमा लत्ताकपडा, पैसा, खाद्यान्न, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी अञ्जुले सँगसँगै क्रिस्चियन धर्म प्रचार गर्ने गरेको र बाइबल बाँड्ने गरेको भन्दै ब्याख्या गरिएको छ । यो तस्बिरमा कमेन्ट गर्नेहरूले अञ्जु बारा र पर्साका हावाहुरी पीडितलाई राहत सामग्रीसँगै बाइबल लिएर गएको उल्लेख गरेका छन् ।

राहतको नाममा क्रिस्चियन धर्म प्रचार गर्न लागेको भन्दै उनको कडा आलोचना गरिएको छ । यता अञ्जु भन्छिन्, ‘हामीले त्यसबेला बालबालिकालाई ब्याग र किताव कापी लगेका थियौं । त्यसलाई अहिले गलत प्रयासमा प्रयोग गरिएछ ।’

उनले त्यो बेला राखेको स्टाटस यस्तो थियो । 'मेरा सबै संसारभरी रहनुभएका प्रिय परिवारहरुमा नमस्ते ? मलाई सानैदेखि अरूलाई सहयोग गर्न पाउँदा अझ भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । अहिले सानै भए पनि आफूले सकेको सहयोग गरौँ भन्ने भावनाले खोलिएको 'अन्जु पन्त फाउण्डेसन'(Anju Panta Foundation) को सहयोग कार्यक्रमका लागि तराईका भिभिन्न ठाउँको भ्रमणमा छु । अहिलेको भ्रमणमा सहयोगहरु निम्नानुसार रहेको छ ।

  • २०७५/८/१६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० स्कुल ब्याग , ४०० कपी, १०० इरेजर, १०० कटर तथा चकलेट आदि वितरण गरियो ।
  • २०७५/८/१७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा फाइबर सिरक अनि चकलेट बिस्कुटहरू वितरण गरियो
  • २०७५/८/१८ गते सर्लाही हरिपुरका मुसहर वालवालिकाहरूलाई ५५ वटा स्कुल ब्याग, २२० कापी, ५५ पेन्सिल, ५५ कटर, ५५ इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरियो ।
  • मकवानपुरको खैराङका चेपाङवस्तीका वालवालिकाहरूका लागि ८८ वटा स्कुल ब्याग, ८८ पेन्सिल, ३५२ कापी, ८८ इरेजर, ८८ कटर, तथा विस्कुट चकलेटहरू वितरण गरियो ।
  •  पर्साको बेलवा गाउँको मुसहर वस्तीमा ४९ वटा फाइबर सिरक आदि सहयोग गरियो ।
  • भक्तपुरका ३५ जना बृद्धहरुलाइ ३५ वटा फाइबर सिरक वितरण गर्ने कार्यक्रम छ ।
  • डोटीमा एच आइ भी पिडित बुवाआमाका वालवालिकाहरूलाई शैक्षिक सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ प्रेम पुर्बक सहयोग कार्यक्रम लिएर गाउँवस्तीमा छु ।चाहे गीत रेकर्डिङ गर्दा होस्, स्टुडियोमा होस् वा '#TheVoice' को स्टेजमा होस् नवप्रतिभालाई केही प्रेम पुर्बक उपहार वा रुपैयाँ दिने गरेकोछु , किनभने यसबाट उहाहरूलाई हौसला,उत्साह मिल्छ भन्ने मलाई लाग्छ । मेरो यो हृदयलाई अन्यथा नलिइदिनुहोला । सबैले आफूले सकेको सहयोग गरौँ । धन्यवाद ।'

सम्बन्धित खबरहरु