काठमाडौं । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नेडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठका अनुसार टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।

शुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । उहाँका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।

उहाँले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १०मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।

यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ । गोरखापत्रबाट

सम्बन्धित खबरहरु