काठमाडौं । दक्षिणी ब्राजिलको परा राज्यमा फेरीडुङ्गा ठोक्किएपछि मोजु नदीमाथि बनेको दुई सय मिटर लामो पुलको एउटा खण्ड भत्किएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार ८६० मिटर लामो सो पुलको एउटा खम्बामा डुङ्गा ठोक्किएको थियो र पुलमा गुडिरहेका दुईवटा कार नदीमा खसेका थिए ।

सो घटनामा कति व्यक्ति परे वा घाइते भए भन्ने स्पष्ट भएको छैन। गोताखोरहरूले नदीभित्र खोजी गरिरहेका छन् । सो डुङ्गामा भएका चालकदलका पाँच जना भने सकुशल रहेको बताइएको छ । पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।

‘हाम्रो प्राथमिकता पीडितहरूको खोजी गर्नु र तिनका परिवारलाई पूर्ण रूपमा सहयोग गर्नु हो ।’ उनले सरकारी सञ्चारमाध्यमलाई भने । बाहबाल्योले ट्विटरमा पुल भत्किएको दृष्य हालेका छन् । ब्राजिलको एमेजन क्षेत्रमा भएको सो पुल देशको अतिव्यस्त मानिने बेलेङ बन्दरगाह जाने बाटोमा पर्छ । सरकारी निकायहरूले नदीबाट पुलको भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् ।

पुल नबनुन्जेल मानिसहरूलाई नदी तार्न साना डुङ्गाको व्यवस्था गरिएको छ । नजिकै रहेका अरू पुलका खम्बाहरूमा नदीमा चल्ने डुङ्गालाई सतर्क गराउन सङ्केतहरू राखिएको छ । स्थानीय सञ्चारमाध्यममा सो पुलका खम्बाहरूमा केही समयअघि गरिएको निरीक्षणमा खिया लागेको देखिएको समाचार प्रकाशित भएको थियो । सरकारले सो समस्याको समाधान गर्न रकम माग गरेको भए पनि उसले बाटो बन्द गर्ने विषयलाई त्यति गम्भीरतापूर्वक नलिएको बताइन्छ ।

पुलमा ठोक्किएको डुङ्गा दर्ता भएर चलेको हो कि हैन भनेर प्रहरीले अनुसन्धान सुरु गरेको समाचारसंस्था एपीले जनाएको छ । सरकारी अधिकारीहरूले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार यो घटनाका कारण दक्षिणी बन्दरगाहहरूमा खाद्यान्न र अन्य उत्पादनको ढुवानी प्रभावित हुन सक्छ । सन् २०१४ मा एउटा पनडुब्बी नजिकै रहेको अर्को पुलको खम्बामा ठोक्किँदा पुलको ५० मिटर लामो भाग भत्किएको थियो । बीबीसी

सम्बन्धित खबरहरु