काठमाडौ । अहिलेको युवा तथा किशोर–किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल पबजी खेलसँगै काल पनि बन्न थालेको छ । यस खेलका कारण भारतको दक्षिणी क्षेत्रमा एक किशोरले आत्महत्या गरेका छन् । पबजीको लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् ।

आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबाद घरमा रहेको ‘सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् । १६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) माथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले पढ्न भन्दै गाली गरेकी थिइन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । अधिकांश भारतीय अभिभावकहरु आफ्नो सन्ततिको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् ।

उनीहरु आफ्ना सन्ततिको शिक्षासम्बन्धी क्षेत्रमा ध्यान केन्द्रित गर्न वयस्कमा पनि उनीहरुकै साथ रहने गर्दछन् । अहिले नेपालमा पनि यस खेलमाथि रोक लगाउँनुपर्ने आवाज उठिरहेको छ । भारतका धेरै राज्यहरुबाहेक केही राज्यहरुमा यस खेलमाथि प्रतिवन्ध लगाइएको छ । भारतमा टिकटक पनि बन्द गर्नुपर्ने आवाज उठिरहेको छ ।

नेपालमा पनि अश्लीलता फैलाएको भन्दै बन्द गर्न दबाब दिन थालिएको छ । पबजीलाई प्रतिबन्ध लगाउनपर्छ भनेर समर्थन गर्नेहरु यो एक घातक खेल भएको स्वीकार्छन् । गएको मार्चमा महाराष्ट्र राज्यको रेलको लिक छेउमा बसेर पब्जी खेल्दै गर्दा विपरीत दिशाबाट आएको ट्रेनले धक्का दिँदा दुई पुरुषले ज्यान गुमाएका थिए ।

सम्बन्धित खबरहरु