काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ ।

आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । ‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ ।

प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । ‘तर, यस क्षेत्रमा आर्थिक वृद्धिलाई दिगो बनाउन मुलुकहरूले निर्यात वृद्धि गर्नुपर्छ,’ वर्षमा दुईपटक छापिने प्रतिवेदनले भनेको छ ।

‘विगत केही वर्षदेखि दक्षिण एसियाको निर्यात क्षमता घट्दै गएको छ र अहिले यो क्षमताभन्दा निकै कम छ । दीर्घकालमा यस क्षेत्रले निर्यात बढाउन सक्छ कि सक्दैन, त्यसका आधारमा आर्थिक वृद्धिको दिगोपन निर्भर हुनेछ,’ विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भने । यस क्षेत्रका मुलुकले अन्तर्राष्ट्रिय बजारसँग आफूलाई अझै बढी जोड्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने तथा जनतालाई समृद्ध बनाउनुपर्ने पनि उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु