काठमाडौं । जनप्रतिनिधिहरुले आफ्ना छोछोरीलाई सरकारी विद्यालयमा पढाउँनुपर्ने आवाज समयसमयमा उठ्ने गर्दछ । यो बिचमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन् । सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण आफूलाई पायक पर्ने तथा उपयुक्त लागेको सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउने सामूहिक प्रतिबद्धता उनीहरूले गरेका छन् । शिक्षक, कर्मचारी तथा सरकारी कर्मचारीका सन्तान समेत सार्वजनिक विद्यालयमा भर्ना गर्ने अभियान चलाउने गाउँपालिकाको योजना रहेको छ ।

तालिम समापनमा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले रूपालाई शिक्षामा नमुना बनाउन उक्त प्रतिबद्धताले महत्वपूर्ण भूमिका खेल्ने बताउँनु भएको छ । उहाँले भन्नु भएको छ, ‘सिंगो देशलाई यो एउटा महत्वपूर्ण सन्देश हो ।

इमान्दार भएर प्रतिबद्धता पूरा गर्नुहुनेछ भन्ने विश्वास छ ।’ गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रतिबद्धता पालनालाई लिएर अनुगमन गरिने जनाउँनु भएको छ । उहाँले भन्नुभयो, ‘आगामी कार्यपालिका बैठकमा प्रतिबद्धता पालना नगर्नेहरूको सेवा सुविधा कटौती गर्ने प्रस्ताव लैजाँदै छौं ।’

वडा नम्बर ५ का अध्यक्ष टेकबहादुर गुरुङले गाउँपालिकाले शिक्षामा फड्को मारेकोले सहर झर्नुपर्ने बाध्यता अन्त्य भइसकेको जनाउनुभयो । विश्वशान्ति मावि देउरालीका व्यवस्थापन समिति अध्यक्ष दामोदर घिमिरेले उक्त निर्णयले उत्साहित बनाएको अनुभव सुनाउनुभयो । रूपज्योति माविका प्रधानाध्यापक मणिराम कँडेलले सामुदायिक विद्यालयमा दरबन्दी रिक्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो ।

सम्बन्धित खबरहरु