काठमाडौं । अहिलेको वर्तमान समयमा सामाजिक सञ्जाल फेसबुक नचलाउँने सायदै होलान । नेपाल लगायत विश्वभरी नै यसका प्रयोगकर्ताहरुको संख्या अर्बौ भएको छ । उो बिचमा देश अनुसार फेसबुक प्रयोकर्ताहरुको प्रकृति पनि फरकफरक हुन्छ । क्याप्सनमा अनेक थरी लेखे पनि फोटो भने उस्तै पाराको हुन्छ– बच्चा उत्तानो परेर सुतिरहेको । यस्ता चित्रमा आमा बनिसकेका महिलाहरूको वा आमा बन्नै लागेका केटीहरूको बिशेष दिलचस्पी र सो क्युट वाला कमेन्ट देखिन्छ ।

फलानो संगठनका फलानो व्यक्ति ढिस्कानो पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई, फलानो व्यक्ति ढिस्कानो देश प्रस्थान गर्न लाग्नुभएकोमा शुभकामना भन्दै फोटो फोस्ट गर्ने व्यक्ति स् यस्ता व्यक्ति राजनीतिका पक्षपोषक र शक्तिका पुजारी हुन् । यिनीहरू विजय जुलुसमा सहभागी भएका छन् भने मौका छोपेर फूलमाला अबिर–केसरीसहितको फोटो विजयी उमेदवारसँगै बसेर खिच्छन् अनि आफूले के–केन लछारपाटो लगाएजसरी फेसबुकमा पोस्टिन्छन् । जुलुसमा गएको छैन भने पनि जितेको सुइँको पाउन साथ विजयी व्यक्तिसँग कुनै मौकामा खिचिएको पुरानो फोटो धुइँधुइँती खोजेर अरूले भन्दा चाँडो पोस्ट गर्छन् ।

छोराछोरी वा ज्वाइँ–बुहारी विदेशमा भएकाले बेलाबखत भिडियो कल गर्न भनेर छोराछोरी, नातिनातिना वा अन्य आसेपासेले खोलिदिएका एकाउन्ट प्रयोग गर्ने बूढाबूढी वा अधबैँसे फेसबुके ः मोबाइल प्रविधि प्रयोगमा आउनुभन्दा अघि नै वृद्ध भएकाले यिनीहरूलाई कल गर्न र रिसिभ गर्न बाहेक अरू केही गर्न आउँदैन ।

अर्का थरीका आमा बुवा छन् जो छोराबुहारी वा छोरीज्वाइँको निम्तोमा अस्ट्रेलिया, अमेरिका वा युरोपेली भूमि पुगी पार्क, समुद्री किनारा वा गगनचुम्बी भवनअगाडि पोज दिएको फोटो बडो हर्षोल्लासका साथ फेसबुक वालमा पस्किन्छन् । यदाकदा यस्ता प्रौढ दम्पतीका पोसाक वा पोज अनपेक्षित आधुनिक र सहजै हजम नहुने खालका हुन्छन् ।

त्यसैगरी पुच्छ्रे भिसामा अस्ट्रेलिया–अमेरिका जाने बाबु आमाहरू छन्, जसले पनि फेसबुकमा छुट्टै गौरवमय स्थान ओगटेका छन् । कोही छोरा वा छोरीको दिक्षान्त समारोहको बहानामा विदेश घुम्ने उत्कण्ठा पूरा गर्न त्यहाँ पुगेका हुन्छन् र हामी पनि कमका छैनौं है भनेर संसारलाई देखाउन फेसबुकमा फोटो हाल्छन् । भर्खरै जन्मिएका नातिनातिना स्याहार्न सुत्केरी भिसामा छ महिनाका लागि विदेश जाने हजुरआमाहरू पनि फेसबुकका नवआगन्तुक प्रयोगकर्ता हुन् ।

मान्छेको जात नै आफ्नो प्रशंसा मन पराउने दिमागी सफ्ट्वेयर जडान गरेर बनाइएको छ । फेसबुकेहरूको ठुलै एउटा जमात छ जो आफ्नो भारी प्रशंसा गरिएको लिङ्क सेयर गर्न माहिर छ । यस्ता लिङ्क वा एपले तपाईं फलानो यस्तो, उस्तो मिलनसार, आत्मविश्वासिलो कुन्नी के–के हो के–के भनेर सेयरकर्ताको गुनगान गाएको हुन्छ । गाली गरेको भए केही पनि नमिलेको जस्तो लाग्थ्यो होला तर प्रशंसा गरिएकाले सबै गुण हुबहु मिलेझैँ लाग्छ र त बेलाबखत टेस्टोनी वा मल्लुएप्स जस्ता लिङ्कले न्युज फिड भरेर आतङ्कै मच्चाउँछन् ।

फेसबुकमा एक थरीका हावादारी प्रयोगकर्ता छन् जो फलानो लिङ्क सेयर गरे बापत आइफोन एक्स जित्न सक्नु हुनेछ अथवा जुकर्बर्ग दम्पतिले यो लिङ्क सेयर गरेबापत १० लाख डलर पुरस्कार दिने वा मनकामना माइको यो तस्बिर सेयर गरेबापत १० मिनेटमा फल प्राप्त गर्नुहोस् भन्ने खालका लिङ्क सेयर गरेर हैरानै पार्छन् । उनीहरूलाई कृपया कसैले बुद्धि देओस् आधारहीन हल्लाको पछि नलाग्न । हलेश्वर वा पाथिभरा मातालाई के थाहा होला र उनीहरूको नाममा फेसबुकमा के सेयर भैरहेको छ भन्ने कुरा रु

सुत्न लाग्दाको, बिहान उठ्ने बित्तिकैको, कहिलेकाहीँ भित्री गञ्जी मात्र लगाएको दिक्क लाग्दो सेल्फी खिचेर नोफिल्टर ह्यास्ट्याग समेत नराखी फोटो हाल्ने झुण्ड पनि ठूलै छ । न लाइट मिल्ने न एङ्गल मिलेका यस्ता ओरिजिनल तस्बिरले दर्शकमाझ खासै अर्थ राख्दैनन् तर पनि फ्रेन्ड लिस्टमा दर्ता भैसकेपछि यस्ता पोस्टहरू झेल्नै पर्छ ।

भर्खरै बाबु–आमा भएका जोडाजोडीको बेग्लै किसिमका तस्बिर देख्न पाइन्छ फेसबुकमा । डे वानदेखि डे ३६५ सम्मका बच्चाका अपडेट । क्याप्सनमा अनेक थरी लेखे पनि फोटो भने उस्तै पाराको हुन्छ–बच्चा उत्तानो परेर सुतिरहेको । यस्ता चित्रमा आमा बनिसकेका महिलाहरूको वा आमा बन्नै लागेका केटीहरूको बिशेष दिलचस्पी र ‘सो क्युट’ वाला कमेन्ट देखिन्छ । त्यसैले त फेसबुक फ्रेन्डलिस्टमा कतिपय यस्ता मित्र छन् जसलाई उसको विवाह हुनुभन्दा ५ वर्षअघि भेटेको हुन्छ, तर उसका

बालबच्चालाई वर्षौंअघि चिनेको जस्तो भान भैसक्छ । ती बालबालिकाका रहनसहनसमेत साथीहरूलाई कण्ठप्रायः हुन्छ र त्यतिनै बेला त्यो नाबालकको फ्रेन्ड रिक्वेस्ट आइसकेको हुन्छ । अरु त अरु बोली नै नफुटेको दुईवर्षे बालकले आफ्नो बाउलाई फेसबुक स्ट्याटस मार्फत जन्मदिनको शुभकामना समेत दिएको यिनै आँखाले देख्नुपरेको छ ।

एकथरी सुलसुले फेसबुकेहरू पनि छन् जो आफ्ना बारेमा चुइँक्क केही बोल्दैनन्, अरूका बारेमा चाँही सबै अपडेट राख्छन् । कसैलाई लाइक पनि गर्दैनन् र मेसेजको रिप्लाई पनि गर्दैनन् । मरेको बाँचेको थाहा पाउन उनीहरूलाई प्रत्यक्ष भेट्नै पर्छ, तर उनीहरू आफूले भने अरु साथीहरूको जानकारी लिइरहेका हुन्छन् ।

कोही हुन्छन् अरूलाई ठग्ने, झुक्याउने, ब्ल्याकमेल वा प्राङ्क गर्ने अभिप्रायले फेक एकाउन्ट खोलेर सताउने खालका । विभिन्न सेलेब्रिटी, उच्चपदस्त व्यक्ति, बिपरित लिङ्गी आदिको नामबाट एकाउन्ट खोली हरेक बहानाबाजी गर्दै आर्थिक लाभ लिनेहरूले पनि फेसबुकलाई माध्यम बनाएको पाइन्छ ।

जे–जस्तो भए पनि हामी सचेत नागरिकले चाहिँ सामाजिक सञ्जाललाई एउटा सकारात्मक ऊर्जा प्रदान गर्ने प्रविधिको अमूल्य देन मान्नुपर्छ जसले गर्दा यसको प्रयोगले आफूलाई मात्र होइन, सबैलाई फाइदै फाइदा पुगोस् । यसलाई सूचना र सन्देश द्रुत रूपमा प्रवाह गर्ने माध्यम बनाउनुपर्छ । गलत गर्न पनि हुँदैन र गर्न दिनु पनि हुँदैन भन्ने ज्ञान सबैमा हुनुपर्छ । कान्तिपुर साप्ताहिकबाट

सम्बन्धित खबरहरु