विशाल सापकोटा, शाखा अधिकृत नेपाल सरकार । सार्वजनिक सेवा प्रवेश सफलता पाउनेहरूका फरक– फरक अनुभव र कला हुन्छन् । मेरो पनि केही भिन्न पृष्ठभूमि छ । ३४ वर्ष उमेर भइसक्दासम्म म शिक्षण पेशामा थिएँ । पढाइमा मैले एमफिल पूरा गरेको थिएँ । साथीहरू निजामती सेवा प्रवेश गर्दा मात्र जीवन सार्थक हुने बताउँथे ।

उनीहरूको उत्प्रेरणाले मलाई लोकसेवा परीक्षामा सफल हुन सक्छु भन्ने आँट, साहस आयो । र लोकसेवा तयारी गर्ने निधो गरेँ । साथी विनोद सुवेदीले सेलेबस, पाठ्यपुस्तक र अन्य पाठ्यसामाग्री संकलनमा सहयोग गर्नुभयो । मेरा साथी सजिलै पास गर्न सक्छस् भनेर उत्साहित गराउँथे । यहीबाट मेरो लोकसेवा तयारी अभियान सुरु भयो । तर, लोकसेवा तयारी गर्दा थुप्रै समस्या थिए ।

अवरोध
मेरो उमेर ३४ वर्ष पुगिसकेको थियो । पहिलोपटक लोकसेवा तयारी गर्दै थिएँ । पास हुन नसक्दा पुनः अर्कोपटक परीक्षा दिन उमेर बाँकी थिएन । परीक्षा आउन पनि मात्र ६ महिना बाँकी थियो । मावि शिक्षक र संस्थाको कार्यकारी निर्देशकको भूमिकामा थिएँ । अन्य विभिन्न करिब आधा दर्जन संस्थाको जिम्मेवारी थियो ।

यसरी गरेँ तयारी
जब मैले सार्वजनिक सेवा प्रवेश गर्नुपर्छ भनेर दृढ संकल्प गरें, मैले आफ्नो पनि लगानी बाहेकका संस्थाहरूसँगको आबद्धताबाट एक हप्ताभित्रै बाहिर आएँ । लोकसेवा पास गरिसकेका केही साथीसँग कसरी तयारी गर्ने भन्ने अनुभव लिएँ । बजारका पुस्तक संकलन गरी घरमै बसेर छोटो–छोटो नोट बनाएर घोक्न थाले । प्रमुख दैनिक पत्रिका नियमित पढ्थेँ । दैनिकजस्तो प्रश्न बनाउने र त्यसको उत्तर लेखी आफैं जाँच्ने गर्थे । साथीलाई देखाउँथे ।

मलाई ऐन नियमका मिति याद हुन सकेको थिएन । मिति गल्ती हुने गरेकाले एकजना अग्रजले मिति नलेखी ऐन नियमको नाम मात्रै लेख्न सुझाब दिनुभयो । त्यस्तै गरें । एक्लैको तयारीले आफ्ना कमजोरी पत्ता नलाग्ने भएकाले आफ्ना अग्रज र अनुभवीसँगको नियमित पृष्ठपोषण अमृत समान हुने रहेछन् ।

धेरै पढिराख्दा बीच–बीचमा अब पढ्नै सक्दिनँ, वर्षौदेखि पढेका कत्ति छन् कत्ति, म कसरी पास गरुँला भन्ने लाग्थ्यो । तीन–चारपटक त पढ्न छोड्ने मनस्थिति पनि बनाएँ । तर, मित्र विनोद सुवेदीले मलाई पढ्न उत्प्रेरित गरिरहनुहुन्थ्यो । म छिटो लेख्न सक्ने भए पनि हस्तलेखनलाई सुधार गर्न घरमा अभ्यास गर्दा पनि राम्रो अक्षरले बिस्तारै लेखेर अभ्यास गर्ने गर्थेँ ।

पढेका कुरा सुतेका बेला, हिँडेका बेला, गाडीमा चढेका बेला, किचनमा र ट्वाइलेटमा बसेका बेला सम्झन खोज्थेँ । सम्झनामा आउन नसकेका कुरा तुरुन्त गएर हेर्थेँ । परीक्षानजिकै आउन थालेपछि तयारी कक्षा गराउने स्थानमा गएर तिनले लिने परीक्षामा समावेश भई फिडब्याक कक्षामा बसी कुरा सुन्थेँ । परीक्षामा फाराम भर्ने र बजारमा देखिने संख्यासँग आत्तिनु नहुने रहेछ ।

विषयगत परीक्षाको पहिलो पत्र दिएर बाहिर निस्किएपछि अन्य परीक्षार्थीको लेखाइको कुरा सुन्दा र आफूले लेखेको सम्झिँदा भोलि र पर्सिपल्टको परीक्षा दिन आवश्यक नभएको ठहर गरेँ । तर, साथीकै जिद्धीले बाँकी परीक्षा दिएँ । अन्ततः पास भएँ । अहिले लाग्छ लोकसेवा पास गर्न आवश्यक अनिवार्य शर्त भनेको धैर्यता र पढाइमा थिग्रिराख्न सक्नु रहेछ ।

लोकसेवामा एक पत्र वा एक उत्तर मात्र राम्रो भएर लोकसेवा पास हुँदैन । सबै पत्र र उत्तरलाई अंकभारसँग तालमेल मिलाइ पढ्ने र लेख्ने गर्नुपर्छ । लोकसेवा भनेको समय व्यवस्थापनको पर्याय हो भन्दा पनि अत्युक्ति नहोलाजस्तो लाग्छ । परीक्षामा जानेका भन्दा मागेका उत्तर लेख्नुपर्छ । भावनामा बहकिनेभन्दा अंकमा सीमित रहने बानी विकास गर्नुपर्छ । लोकसेवाको परीक्षामा सफलता हाँसिल गर्न ‘मैले यो परीक्षा पास गर्नै पर्छ’ भन्ने दृढ संकल्प र उपलब्धिलाई देख्नसक्ने अर्जुनदृष्टि आवश्यक पर्छ । यो नयाँ पत्रिकाबाट लिइएको छ ।

सम्बन्धित खबरहरु