काठमाडौं । नेपालमा अहिले नागरिकतालाई लिएर ठुलो बहस छेडिएको छ । संघीयताको सुरु देखि नै विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले नेपालको अस्तित्व संकटमा पर्ने जनाएको छ । जनमोर्चा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै समाप्त हुने खत्तरा देखिएको बताउनु भएको छ ।

आज दोस्रो चन्द्रागिरी महोत्सवमा बोल्दै अध्यक्ष केसीले सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व सकिने तर्फ सबैलाई ध्यान दिन आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ ।

यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको उहाँको आरोप छ । फरक प्रशंगमा नेता केसीले संघीयता क्यान्सर रोग जस्तै भएको र यसको कुनै सही उपचार नरहेकाले यसलाई खारेजी गर्नुपर्ने आजको आवश्यक्ता भएको धारणा राख्नु भएको छ । उहाँले अहिले संघीयता कसैलाई मन नपरेको भन्दै निल्नु न ओकल्नु भएको टिप्पणी गर्नुभएको छ ।

सम्बन्धित खबरहरु