काठमाडौं । सबै नेपालीका लागि अब पालो क्रिकेटका स्टार नेपाली छोरा सन्दीप लामिछाने जिताउने आएको छ । लगातार दोस्रो वर्ष आईपीएलमा खेलिरहेका नेपाली स्पिनर लामिछाने आईपीएलको इमर्जिङ प्लेयरको अवार्डका लागि मनोनयनमा परेका छन् । यो अवार्डको विजेता अनलाइन भोटिङ र कमेन्टेटरहरुको मतका आधारमा चयन गरिन्छ । अहिलेसम्मको मतमा सन्दीप सबैभन्दा अगाडी छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रत्येक संस्करणमा इमर्जिङ प्लेयर अवार्ड प्रदान गर्छ । जारी आईपीएलको आधाभन्दा बढि खेल सकिँदा बीसीसीआईले इमर्जिङ प्लेयर अवार्डको मनोनयन सुची सार्वजनिक गरेको हो । यो अवार्डमा दिल्ली क्यापिटल्सका सन्दीपसँगै रोयल च्यालेन्जर्सका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चहर, राजस्थान रोयल्सका जोफ्रा अर्चर र राजस्थान रोयल्सकै श्रेयस गोपाल मनोनित भएका छन् । सन्दीपले जारी संस्करणमा चार खेलबाट पाँच विकेट लिएका छन् । गत वर्षको संस्करणमा उनले तीन खेलबाट पाँच विकेट लिएका थिए ।

बीसीसीआईले मनोनित गरेको मध्ये एक जनालाई सर्वसाधारणले यहाँ क्लिक गरेर भोट गर्न सक्नेछन् । अनलाइन भोट र टेलिभिजन कमेन्टेटरको माध्यमबाट यी पाँच जनामध्ये एकले यो संस्करणको इमर्जिङ प्लयर अवार्ड जित्ने छन् ।यो अवार्ड जित्नेलाई १० लाख भारु नगद पुरस्कार प्रदान गरिन्छ । भोटिङको पछिल्लो स्थितिमा सन्दीप सबैभन्दा अगाडि छन् । उनले ६० प्रतिशतभन्दा बढि मत प्राप्त गरिरहेका छन् । उनलाई मोहम्मद सिराजले पछ्याएका छन् । अन्य खेलाडीले खासै धेरै मत पाउन सकेका छैनन् ।

११औं संस्करणसम्म आईपुग्दा एउटाबाहेक सबैमा भारतकै खेलाडीले यो अवार्ड जित्दै आएका छन् । सन् २०१६ मा भने यो अवार्ड बंगलादेशका बलर मुस्ताफिजुर रहमानले जितेका थिए ।

यो अवार्ड जित्नका लागि सन्दीपले अबका खेलमा प्लेइङ इलाभेनमा पर्दै सबैको मन जित्न सक्नुपर्नेछ । आफ्नो खेल कौशलले फ्यानसँगै टेलिभिजन कमेन्टेटरको मन जित्न सके सन्दीपले यो पुरस्कार पाउन सम्भव छ । भारतिय भूमीमा भारतियहरुलाई नै पछार्र्दै सन्दीपलाई यो अवार्ड जिताउन भोटका लागि सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु