काठमाडौ । अचानक आएको हावाहुरीले ज्यान जानेहरुको संख्या ४३ पुगेको छ । मौसमविद्हरुका अनुसार यो डरलाग्दो अवस्था अझै केही दिन थप चल्ने देखिएको छ । भारतको गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखंड, हिमाचल, हरियाणा र राजधानी नई दिल्लीमा अहिलेसम्म ४३ जनाको ज्यान गएको दैनिक भास्करले लेखेको छ ।

यस महा-विपत्तीमा कम्तीमा पनि ४० जना गम्भिर घाइते भएको जनाइएको छ । हावाहुरीले असर गरेका राज्यहरुमा गुजरात, राजस्थान र मध्यप्रदेश सबैभन्दा धेरै प्रभावित राज्यहरु हुन् । यी तीन राज्यहरुमा जम्मा ३४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

वर्षाको कारण यी राज्यहरुमा तापक्रम निकै कम भएको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ । नेपाल र भारतका राज्यहरुमा बिहिबारसम्म मौसममा सुधार आउँने विश्वास गरिएको छ । भारतीय मौसम विभाग महानिर्देशक केजे रमेशका अनुसार पाकिस्तानबाट आएको पश्चिमी विक्षोभ र पछिल्लो ४ दिन देखि चल्दै आएको हीटवेवका कारण भारतको पश्चिम–उत्तर क्षेत्रको मध्य क्षेत्रमा मेघ गर्जन सहित वर्षा र केही राज्यहरुमा चट्याङ पनि परेको छ ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विपत्तीमा मारिएका परिवारलाई भारु २ लाख प्रधानमन्त्री राष्ट्रीय राहत कोषबाट उपलब्ध गराउँने जनाउनु भएको छ । मृतकका परिवारलाई दुई लाख दिने बताएको सरकारले घाइतेहरुलाई ५० हजार भारु दिने बताएका छन् ।

सम्बन्धित खबरहरु