लघुकथा: मनोरोग / गोमा सिटौला

काली काली हिस्सी परेकी, लाम्चो अनुहार, ठुला ठुला आँखा , छिनेको कम्मर, सलक्क परेको जिउडाल हेर्दा विशिस्ट मान्छे जस्तो देखिने तपस्या भाउजूलाई तिलक दाइले किन सौता हालेका होलान् जस्तो लाग्थ्यो । म भाउजूको सुन्दरतामा हराइसकेको थिएँ । हरेक बाहाना पारेर भाउजुसँग गफिन्थेँ। हर तरहले आफूतिर आकर्षित गराउन खोज्थेँ तर भाउजू गङ्गाजत्तिकै पवित्र थिइन् तर पनि स्त्रीलम्पट तिलक दाइ बेलाबेलामा भाउजूको अग्नि परीक्षा लिएर पल पल जिउँदै जलाउँथे ।

``भाउजू,जानाजान हजुरले नै दु:ख बिसाएको हो।´´-म सम्झाउँथेँ । ``सरुवा भएर जुन जिल्लामा गए पनि दाइले बैँस सम्हाल्न सक्दैनन् । एउटा न एउटा उपद्रो गरेर आउँछ्न् । कतिलाई लघारुँ बाबू ? ´´ मैले भनेँ, ``भाउजू, यसरी सौता घरमा हुल्न दिनु हजुरको कमजोरी हो।´´

`` पेट बोकाएछन् । गाउँलेले घरमा जबर्जस्ती हुलिदिए फेरि यस्तो बेलामा गर्भिणीलाई न्याय माग्न कहाँ पठाउनू ?´´ भाउजूले भन्नुभयो । ``सौतालाई माया नगर्नुस् भाउजू ।´´ मैले सम्झाएँ । ``अर्को उपाय नभए पछि के गरुँ ? महिलाले महिलालाई खेदो गरेर पुरुषसँग गएर न्याय माग्न पनि सुहाउँदैन । भयो , जोरीपारी हँसाएर भएन ।´´निराश भएर भाउजूले भन्नुभयो

``दाइलाई छोडेर अर्को बिहे गर्न सक्नुहुन्न ?´´मैले सोधेँ । ‌``अधर्मीको असाध्यै माया लाग्छ बाबू ! फेरि बालबच्चाको बिचल्ली पार्नु भएन । ´´ ``दाइलाई पनि नियन्त्रणमा राख्नुहोस् नत्र घरभरि छाउराको बथान होला नि ! होस् पुर्‍याउनू भाउजू ।´´ निकै बेर घोइरेपछि भाउजूले लामो सुस्केरा तानेर मुख खोल्नुभयो- ``कातिके मनोदशालाई नियन्त्रणमा राख्न गाह्रो हुने भएकोले सायद अचेल प्राय नारीहरूले स्थायी बन्ध्याकरण पुरुषलाई गर्न लगाएको होलान् ।´´

`` यस्ता मनोरोगीलाई `पुरुष बन्ध्याकरण ´समस्याको समाधान होइन भाउजू । बरू नारीलाई हेर्ने मोतिविन्दु लागेको दाईको आँखा शल्यक्रिया गरेर ज्ञानको चस्मा लगाइदिनु पर्‍यो ।´´ मैले भनेँ ।

सम्बन्धित खबरहरु