बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको अन्तिम दिनको गोप्यता खोलेका छन् । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको गोप्यता खेलेका हुन् ।

कांग्रेस क्षेत्रीय समिति रुपन्देही–४ को सम्मेलनको उद्घाटन गर्दै नेता पौडेलले पहिलो संविधानसभा विघटन हुने अन्तिम दिन प्रचण्डले आफूलाई बोलाएर १० जातीय राज्यमा सहमत हुन आग्रह गरेको बताए । त्यसको बदलामा बाबुरामलाई राजीनामा गराएर आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डले राखेको उनको दाबी छ । ‘जातीय राज्य मानेको भए त म सजिलै प्रधानमन्त्री हुन्थे किनकी माओवादीको वहुमत थियो’ पौडेलले भने, तर, मैले प्रधानमन्त्री त के राष्ट्रपति पाएपनि जातीय राज्य मान्दिन भनेर अडान लिएँ ।’

त्यतिबेला माओवादीले नेवा, ताम्सालिङ, मगरात, लम्बवान जस्ता प्रदेशहरु बनाउन खोजेको थियो । कांग्रेसको असहमतिकै कारण देश जातीय द्वन्द्वमा जानबाट रोकिएको पौडेलको दाबी छ । कम्युनिष्टहरुको कुनै निश्चित सिद्धान्त नभएको र जनतालाई ढांटेरै सत्तामा पुगेको उनको आरोप छ । केपी ओली र प्रचण्डहरुले देखाएको सपना अहिले किन पूरा भएन भनेर कांग्रेसले गरीब, किसान, मजदुरसँग प्रश्न गरेर उनीहरुको मन जित्ने बेला उनले आएको बताए ।

नेता पौडेलले कांग्रेसको इतिहास, सिद्धान्त र आदर्शमा राम्रो भएपनि त्यसअनुसार व्यवहार नभएको र पार्टीमा अन्तरघात हुुँदा चुनाव हारेको बताए । व्यवहार सुधारेर अघि बढे कम्युनिष्टसँग लड्न सकिने भन्दै उनले १४औं महाधिवेशन छिटो गर्न दबाव दिनुपर्ने बताए । चुनावको मुखमा महाधिवेशन गर्ने हो भने फेरि पनि कांग्रेस पराजित हुने पौडेलले औंल्याए । छिटो महाधिवेशन गरेर पार्टीलाई एकतावद्ध बनाई प्रत्येक मतदाताको घरघरमा कम्युनिष्टको भण्डाफोर गर्न पुग्नुपर्ने कांग्रेस व।रिष्ठ नेता पौडेलले बताए ।

उनले कार्यकर्तालाई व्यक्तिको पछि नलाग्न र देउवा, पौडेल वा अरु होइन कांग्रेस भन्न आग्रह गरे । ‘सभापति बलियो होइन, पार्टी बलियो बनाउने भन्नुस्’ वरिष्ठ नेता पौडेलले भने, ‘पौडेल, देउवा नभन्नुस्, कांग्रेस भन्नुस् । तब मात्र पार लाग्छ ।’

सम्बन्धित खबरहरु