काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा प्रहरी संगठन विभिन्न कारणले गर्दा अलोचनाको शिकार बन्नु परेको छ । निर्मला हत्या काण्ड देखि लिएर अन्य धेरै कारणले गर्दा नेपाल प्रहरीमाथि जनताले प्रश्न गर्न थालेका छन् । यो बिचमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि काम गर्न नसकेको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको गुनासो पोख्नु भएको छ । आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला हत्याकाण्डको अनुसन्धान भैरहेको समेत्त स्पष्ट पार्नु भएको छ ।

महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दाबी गर्नुभयो । उहाँले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने ठोकुवा गर्नुभएको छ । उहाँले विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो ।

खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रमाण नपुगेको कारण कारबाही गर्न नसकिएको भन्दै प्रहरी प्रमाण जुटाउने काममा व्यस्त भएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु