काठमाडौ । पछिल्लो समय निजी भन्दा सरकारी विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । डेढ घण्टाको उकाली ओराली काटेर विद्यालय धाउँदै आएकी ४ कक्षामा अध्ययनरत ९ वर्षीया मुना कार्की अब केहीबेरमैै विद्यालय पुग्ने भएकी छन् । घरैनजिकबाट आफ्नै विद्यालयको बस चल्न थालेपछि उनलाई सजिलो भएको हो ।

टुनीबोटे गाउँदेखि विद्यालय धाउँदा अब विगतको जस्तो घण्टौ समय खर्चिन नपर्ने भएपछि उनी दंग छिन् । उनीमात्र होइन महालक्ष्मी नगरपालिकाको जीतपुरस्थित जनता माध्यमिक विद्यालयका अधिकांश छात्रछात्रा, अभिभावक र शिक्षकमा खुसी छाएको छ । सामुदायिक विद्यालयमा जिल्लामै स्कुल बससेवा सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ, जनता माध्यमिक विद्यालय । विगतमा झन्डै डेढ घण्टा पैदल हिडेर विद्यालय जाने गरेकी ५ कक्षाकी छात्रा दिपाश्ना अधिकारीलगायत पनि खुसी छन् ।

विद्यालयले आइतबारदेखि औपचारिक रूपमा बस सञ्चालन थालनी गरेको विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले जताए । विद्यार्थीमा लेखपढ गर्ने बढी समय उपलब्ध हुने र आतेजाते गर्न सहज बनाउन बस खरिद गर्नुपरेको उनी बताउँछन् ।

शिक्षा विभागबाट जिल्लाकै उत्कृष्ट नमुना जिल्लाको रूपमा चयन गरेपछि प्राप्त गरेको रकम सदुपयोग गरेर २५ लाख रुपियाँमा गाडी किनेको उनले जानकारी दिए । विभागले प्रविधिमैत्री विद्यालय सञ्चालन गर्न यस वर्ष डेढ करोड रुपियाँ उपलब्ध गराएको प्रधानाध्यापक भट्टराईले जनाए ।

उक्त रकममध्ये भन्सार छूट सुविधाबाट बस किनिएको छ । उक्त विद्यालयमा ७ किलोमिटर पैदल दूरीबाट समेत विद्यार्थी पढ्न जाने गरेका छन् । विगतमा विद्यालयबाट घर पुग्दा सा“झपख मात्र पुगिने गरेको र बिहान हतार गरेर विद्यालय जानु पर्दा लेखपढ गर्ने समय कम हुने गरेको छात्रा दिपाश्नाले बताइन् ।

‘अब बस चढेर सबै साथीसँग विद्यालय जान पाइने भएपछि खुसी लागेको छ’, उनले भनिन्, ‘घामपानीको पनि चिन्ता नहुने, छिट्टै घर पुग्न पाइने भएपछि पढ्न लेख्न धेरै समय मिल्ने भएको छ ।’

५ कक्षाका छात्रा युवराज सुवेदीले पनि अब डेढ घण्टा टाढा पैदल हिडेर विद्यालय धाउनु नपर्ने भन्दै खुसी व्यक्त गरे । बढीमा १० मिनेटमै गाडीबाट विद्यालय पुग्न सकिने उनले बताए । अधिकांश ग्रामिण बस्ती समेटेर बनाइएको नगरपालिकाका मध्यक्षेत्रका बालबालिका उक्त विद्यालयमा पढ्न जाने गरेका छन् । स्थानीय ढोडे, टुनिबोटे, आन्दु्रकलगायत गाउँका बालबालिका बस सेवाबाट बढी लाभाम्वित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण तुम्बाले बताए ।

दृश्य सामग्रीबाट पठनपाठन, बस सेवा र तालिमप्राप्त विषयगत शिक्षकबाट पढाइ थालिएपछि उक्त विद्यालयमा निजी विद्यालयबाट समेत ह्वात्तै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक भट्टराईले बताए । यसै शैक्षिक सत्रमा हालसम्म ३५ भन्दा बढी विद्यार्थी निजी विद्यालय छाडेर भर्ना भइसकेको उनले बताए । उक्त विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कान्तिपुर दैनिकबाट

सम्बन्धित खबरहरु