दुल्लु । तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ । दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो ।

दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको भेटिएको छ ।

त्यतिबेला अहिलेको जस्तो सुविधा नभए पनि ढुङ्गाबाटै दुई कपडा फेर्ने कोठासमेत बनाइएको उत्खननपछि भेटिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।

अब दुल्लु नगरपालिकाले यो धारालाई पर्यटकीयस्थलका रुपमा विकसित गर्नका लागि आवश्यक बजेटसहित व्यवस्थापन गर्ने तयारी गरेको नगरप्रमुख भण्डारीले बताउनुभयो । आफैँमा ऐतिहासिक र मौलिकता भएको धारा फेला परेपछि अहिले त्यसलाई हेर्न आउनेहरुको घुइँचो लागेको स्थानीयवासी निरक शाहीले बताउनुभयो ।

बुढापाकाले त्यहाँ धारा रहेको सुन्दै आएको र अहिले दुल्लु नगरपालिका– ५ को बजेटबाट के रहेछ भनेर उत्खनन शुरु गरिएको थियो । “उत्खननपछि जमीनमुनि कलाकौशलले ढुङ्गामै कुदिएका धारा भेटियो”, नगप्रमुख भण्डारीले भन्नुभयो, “थप उत्खनन गर्दै जाँदा धारामा पानी पनि आयो, ढुङ्गाबाटै बनाइएको दुई कपडा फेर्ने कोठा पनि धारासँगै जोडिएको अवस्थामा भेटियो, अहिले उत्खनननकार्य सकिएको छ ।”

गहुँबारीभित्र धारा होला भन्ने कल्पनासमेत नगरेका स्थानीयवासीले अन्ततः पुराना बुढापाकाले भनेको कुरा सत्य सवित भएपछि उत्साही भएका छन् । उत्खननपछि ढुङ्गाबाट कुदिएका कलात्मक दुई धारा, महिला पुरुषका लागि छुट्टाछुट्टै कपडा फेर्ने ढुङ्गाकै कोठा, मुङ्ग्राको धारा भेटिएपछि दुल्लुवासी खुशी भएका छन् ।

पुरिएको अवस्थामा रहेको धारालाई उत्खनन गरी जीवन्त राख्ने प्रयास सफल भएको नगरपालिकाले जनाएको छ । सिंजा राज्यको हिउँदे राजधानीसमेत रहेको दुल्लुमा उतिबेला राजाहरुले प्रयोग गर्ने धारा उनको शासन सकिएसँगै पुरिएको अनुमान गरिएको छ । दुल्लु नगरपालिकाले धारालाई पुरानै शैलीमा स्थापना गरेर खोज अनुसन्धान गर्ने तथा पर्यटकका लागि कलाकौशलले भरिएको धारा राखिने जनाइएको छ ।

“सिंजा राज्यको पालामा बनाइएको कलाकौशलपूर्ण नमूना ढुङ्गा धारा भेटिएको छ”, नगरप्रमुख भण्डारीले भन्नुभयो, “अब हामी पुरानै शैलीको कलात्मक धारालाई जीवन्त राख्नेछौँ ।” अहिले दुल्लु क्षेत्रका धेरै स्थानमा रहेको ऐतिहासिक स्थानको उत्खनन हुनुपर्ने आवाज उठेको नगरप्रमुख भण्डारीको भनाइ छ । उत्खनन र धारा रहेको सो जग्गा किन्नका लागि दुल्लु नगरपालिका–५ को वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित खबरहरु