काठमाडौं । कुनै पनि मानिसको मृत्युमा त्यस घरको परिवार शोकमा हुने गर्दछ । तर अर्को कुरा के पनि सत्य हो भने जब धन देख्छ तब भगवानका पनि तीन नेत्र(आँखा) हुन्छन् ।

यस्तै घटना हालै नेपालमा पनि घटेको छ । झापाको कमल गाउँपालिका १ स्थित किस्‍नेघाटमा मलामीबीच कुटाकुट भएको छ । लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएपछि गाउँले आश्चर्यमा परेका छन ।

मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो । गौतम काइँला छोरासँग दमकमा बस्‍दै आएका थिए । करिब एक वर्षअघि बिरामीले थलिएका गौतम साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका साइँला छोरा नरेन्द्रले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाएका थिए । तर बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाइएपछि बुवाको उपचारमा समस्या भयो ।

नरेन्द्रले भने, ‘बुवाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो ।

समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिँदा भाइले जिउनी फिर्ता गरेनन् ।’ यो प्रकरणमा गल्ती काइँला छोराको भएको स्थानीयको भनाइ छ ।

उनले बुवा विरामी हुँदासमेत उपचारमा बेवास्ता गरेको स्थानीयले आरोप लगाउँदै आएका छन । बिहान ९ः५४ बजे रघुनन्दको निधन भयो । निधनको चार घण्टापछि स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो ।

घाटमै दमक बस्दै आएका काइँला भाइ कुलेन्द्र र उनका साथीहरुले अपशब्द प्रयोग गरेर भतिजलाई हात हालेपछि विवादले उग्ररुप लिएको थियो ।

विवादका क्रममा कुलेन्द्र र श्रीमतीले जेठानी दिदीमाथि दुर्व्यवहार र अपपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय तुलसीराम दंगालले भने, ‘भाउजुलाई अपशब्द प्रयोग गरेपछि नरेन्द्रले भाइलाई हात हालेका हुन्, आर्यघाटमा युवाहरुको समूह बनाएर आएका रहेछन् ।’

सम्बन्धित खबरहरु