काठमाडौं । नेपालीहरुले पनि विशेष महत्वको साथ हेर्दै आएको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोचक प्रतिस्पर्धा हुने देखिएको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नइ सुपरकिंग्ससँग नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स भिड्ने भएको छ ।

आज बेलुकी नेपाली समयअनुसार सवा ८ बजे सुरु हुने खेल धोनीको आँगन अर्थात चेन्नइको एम चिदम्बरम स्टेडियममा हुँदैछ । चेपकमा धोनी निकै सफल छन् त्यसैले उनलाई हराउनु निकै कठिन हुने धेरैले तर्क गरेका छन ।

त्यसमाथि धोनी आइपिएलकै सबैभन्दा सफल कप्तान हुन् र उनलाई हराउन राम्रो खेलले मात्र पुग्दैन रणनीति पनि उत्तिकै चाहिन्छ ।

आजको खेल दुवै टिमका लागि महत्वपूर्ण हुने देखिएको छ । दुवै टिमले समान १६ अंकका साथ प्लेअफमा स्थान बनाइसकेका छन् । आजको खेल जित्ने टिमलाई अंक तालिकामा शीर्ष २ मा स्थान बनाउने अवसर भएकोले दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ ।

शीर्ष दुईमा पर्ने टिमले प्लेअफमा पहिलो खेलमा पराजित भए पनि दोस्रो खेल जित्दै फाइनल पुग्न अवसर पाउँछ । तर, तेस्रो वा चौथो स्थानमा परेमा भने एउटा खेल मात्रै हारे बाहिरिनुपर्छ ।

आइपिएलको जारी सिजनमा अहिलेसम्म सबैभन्दा शक्तिशाली देखिएका यी दुई टिमबीचको भिडन्त निकै रोचक हुने देखिएको छ । रोचक त के भने जारी आइपिएलमा चेन्नइ सबैभन्दा बुढो टिम हो र दिल्ली सबैभन्दा युवा टिम हो । चेन्नइका खेलाडीको औसत आयु ३० वर्षभन्दा माथि छ भने दिल्लीका खेलाडीको औसत आयु २५ वर्ष छ ।

चेन्नइका पाका खेलाडीको अनुभव र दिल्लीका युवा खेलाडीको जोशको भिडन्त निकै रोमाञ्चक हुनुका साथै आजको खेलमा सन्दीपको कस्तो प्रदर्शन हुन्छ नेपालीहरुले हेर्न चाहिरहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु