काठमाडौ । वैशाख कृष्णपक्षको औंसी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी अझ अहिले यसलाई मातृसम्मान दिवस भनेरपनि पुकार्न थालिएको छ । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।

यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यो दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।

विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् ।

मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।

आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम।

सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

सम्बन्धित खबरहरु