नयाँ दिल्ली । विगतको २० वर्षको नआएको शक्तिशाली आँधीको प्रभाव भारतमा देखिएको छ । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा पुगेको छ ।

फानी आँधीका कारण त्यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।

मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने सम्भावना देखिन्छ त्यसपश्चात यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ । मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ ।

यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ ।

त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु