काठमाडौं । केही दिन देखि चर्चामा रहेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विषयबारे अर्को तथ्य खुल्न आएको छ । उहाँको सचिवालयले एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्षको चरित्रहत्या गर्न खोजेको आरोप लगाएको छ ।

केही दिन देखि चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष भन्ने खर चर्चामा रहेको छ । यसै सन्दर्भमा उहाँको प्रेस वक्तव्य जारी भएको छ । यस्तो छ प्रेस विज्ञप्ती ...

‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष’ शिर्षकमा नयाँ पत्रिका दैनिकमा मिति २०७५ वैशाख २२ गते प्रकाशित समचार र सो समचारलाई तोडमोड गरी अन्य अनलाइन तथा सामाजिक सञ्जालमा सम्माननीय अध्यक्षज्यूको गरिमामा आँच पुग्ने गरी गरिएको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यज्यूहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको छ ।

उक्त ऐनको दफा ५ ले आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले स्वकीय सचिवालयको लागि अनुसूची २ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिवालयमा ८ जना कर्मचारी रहने व्यवस्था छ ।

संसदका पदाधिकारी र सदस्यज्यूहरुको स्वकीय कर्मचारीको पारिश्रमिक विगतका संसद, पुर्नस्थिापित व्यवस्थापिका संसद, पहिलो तथा दोस्रो संविधानसभा, रुपान्तरित व्यवस्थापिका संसद र संघीय संसदको निर्वाचनपछि पनि २०७५ पुष महिनासम्म सम्बन्धित पदाधिकारी र सदस्यहरुको खातामा नै जाने प्रचलन रहेको थियो ।

यसरी सम्बन्धित पदाधिकारी तथा सदस्यज्यूहरुले समष्टिमा प्राप्त रकमबाट स्वकीय कर्मचारीलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको यथार्थ सर्बविधितै छ ।

२०७५ पुषपछि संघीय संसद सचिवालयले पदाधिकारी तथा सदस्यज्यूहरुका स्वकीय कर्मचारीको पारिश्रमिक सम्बन्धित कर्मचारीकै बैंक खातामा जाने व्यवस्था मिलाउन सुरु गरेको हो ।

यसै क्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको सचिवालयमा कार्यरत स्वकीय कर्मचारीको पनि व्यक्तिगत बैंक खाता माग गर्ने र प्राप्त भएकाहरुको हकमा सम्बन्धित कर्मचारीकै खातामा रकम पठाउने व्यवस्था सुरु भइसकेको छ ।

तर, सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बंैंक खाता उपलब्ध भइनसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षज्यूको खातामार्फत भुक्तानी भएको हो ।

सवारी चालकको खाता नम्बर हालै प्राप्त भएको छ । पारिवारिक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेको कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न सकिएको छैन ।

निजको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको छ । उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुनेछ ।

यो यथार्थलाई तोडमोड गर्दै संघीय संसद सचिवलायको भुक्तानी भरपाईलाई समेत पत्रिकाले आफ्नो अनुकूल परिमार्जन गरी सि नंं. १३ देखि १६ सम्मका दुई हलुका सवारी चालक र कार्यालय सहयोगीको पारिश्रमिक ‘सम्माननीयको खाता’ लेखिएको ठाउँमा श्री गणेशप्रसाद तिमिल्सिना लेखेर त्यही नै आधिकारिक भरपाई जसरी प्रस्तुत गरिएको छ ।

साथै यथार्थ नबुझि सो तथ्यलाई तोडमोड गरी पत्रिकाको साभार गर्ने नाममा अन्य अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा सो रकम सम्माननीय ज्यूले नै आफ्नो पकेटमा राखेको, चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खाएको भनी गरेको कुप्रचार तथा पित पत्रकारिताप्रति खेद प्रकट गर्दछौं ।

यस्ता भ्रम तथा हल्लाका पछाडि नलाग्न सम्पूर्ण जनता तथा शुभ चिन्तकहरुमा आग्रह गर्दछौं । २३ वैशाख २०७६ । अशोक पौडेल प्रेस विज्ञ

सम्बन्धित खबरहरु