काठमाडौं । सन् २०१४ मा नियुक्त भएका क्याप्टेन आङनुरी शेर्पाले वाई १२ ई विमान उडाउँथे । उनी अमेरिकाको स्थायी बासिन्दा भएको थाहा पाएपछि निगमले उनलाई भविष्यमा स्थायी सेवाका लागि अयोग्य ठहर गरी सेवाबाट बर्खास्त गरेको थियो ।

नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा र सर्तसम्बन्धी विनियमावलीमा विदेशी पिआर लिएकालाई भविष्यमा निगमको सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था छ ।

तर, निगमले विनियमावलीको गलत व्याख्या गरी शेर्पालाई पुनः करारमा नियुक्त गर्यो । निगम सञ्चालक समितिको २३ जेठ ०७४ मा बसेको बैठकले ६ वर्ष सेवा गर्ने कबुलियतनामा गरेकाले शेर्पालाई बाँकी अवधि सेवामा लगाउने सहमति व्यवस्थापनलाई दिने निर्णय गरेको थियो ।

स्थायी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकालाई पुनः करारमा राखी काम गराउने निर्णय कानुनविपरीत देखिएको ठहर सतर्कता केन्द्रले गरेको छ । यद्यपि, शेर्पालाई कुनै कारबाही भएको छैन ।

हाल उनी जहाज उडाइरहेका छन् । अहिले उनको मासिक तलब १८ लाख छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमामा प्रकाशित छ । यस्तै, नयाँ पत्रिकामा नै नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको खबर छ ।

खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औँल्याइएको छ ।

पाइलटको तालिम र चालकदलको आवासमा समेत निगम पदाधिकारीले चलखेल गरेका छन् । निगमले नियमविपरीत वाई १२ ई जहाज उडाउन निजी वायुसेवा कम्पनीमा कार्यरत पाइलट फिजोनाथ नेपाली र केबी लिम्बूलाई १३ लाख रुपैयाँसम्म मासिक तलब दिने गरी नियुक्त गरेको छ ।

नेपाली मकालु एयरका अध्यक्ष हुन् । १ फागुन ०७५ मा सात लाख रुपैयाँ मासिक तलब तथा अन्य सुविधा दिने गरी नेपालीसँग र १८ माघ ०७५ मा लिम्बूसँग सम्झौता गरिएको थियो ।

उनीहरूले ‘इन्स्ट्रक्टर पाइलट’को ‘लाइसेन्स इन्डोर्समेन्ट’ भएपछि मासिक १३ लाख रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । जनताको प्रत्यक्ष सरोकार जोडिएका क्षेत्रमा यस्तो अवस्था चिन्ताजनक हो ।

सम्बन्धित खबरहरु