काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । सबै जिल्ला, क्षेत्र, गाउँ–नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ।

कांग्रेसले आजबाट सुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नेछन् ।

अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरूले उद्घाटन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भइ आगामी जेठ २५ गते समापन हुनेछ।

त्यस्तै, दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भइ असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भइ पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए।प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ।

सदस्यता वितरणदेखि अभिलेख संकलनसम्म
जागरण अभियानका सबै उद्घाटन कार्यक्रम र भाषण छरितो ढंगले सम्पन्न हुनेछन् पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जागरण अभियानअन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिनेछन् ।

सातै प्रदेशमा शीर्षनेताको सम्बोधन

राष्ट्रिय जागरण अभियान मुलुकभरका साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिमा समेत सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ। सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं ५ को रुपन्देहीमा महामन्त्री डा शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको उनले बताए।

अभियानअन्तर्गत भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, आसनग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक तीन वक्ता मात्र रहनेछन्। प्रवक्ता शर्माका अनुसार विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ। यस अभियानमा ब्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुनेछ।

प्रवक्ता शर्माले अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको बताए।पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ।त्यस्तै, पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ । रासस

सम्बन्धित खबरहरु