
काठमाडौं । १७ जना यात्रु लिएर उडेको विमान अचानक दुर्घटनामा परेको छ । तुम्लिङटारबाट १७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको विमान देवीस्थानमा दुर्घटनाग्रस्त भएको हो ।
आज दिउँसो १२ बजे काभ्रेको देवीस्थानमा एक्कासि यस्तो होहल्ला मच्चिएको थियो । प्रहरीलाई फोन गर्दै केही यात्रुको मृत्यु भयो र केही घाइते भएको भन्ने खबर आएको जानकारी गराइयो ।
यति खबर जानकारी पाएपछि तत्काल प्रहरी घटनास्थल पुगे । मृतकका शव बटुलियो भने घाइतेको उद्धार गरियो । त्यसबेलासम्म काभ्रे देवीस्थान आसपास विमान दुर्घटना भएको हल्ला फैलिसकेको थियो ।
स्थानीयवासी अत्तालिँदै दुर्घटनास्थल आए अनी उद्धारमा जुट्न थाले । नजिकै रहेको धुलिखेल अस्पतालले चिकित्सक र नर्सलाई तयारी अवस्थामा राख्यो । अस्पतालका एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखियो ।
अस्पतालमा दौडधुप चलिरहँदा स्थानीयमा समेत निकै त्रास भयो । खैलाबैला नै मच्चियो । तुम्लिङटारबाट उडेको सो विमान २७ किमि जति उडेपछि देवीस्थानमा दुर्घटना भयो भन्ने खबर स्थानीयसम्म पुग्यो ।
प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्दै गर्दा त्रिभुवन विमानस्थलका कर्मचारी सुरक्षाकर्मीसहित घटनास्थल पुगे । स्थानीयवासी त्यसबेलासम्ममै त्रासमा नै देखिएका थिए ।
प्रहरीका स्थानीय सेटमा विमान हराएको र दुर्घटना भएको खबर गरियो । त्यसपछि उद्धारकर्मी तत्कालै परिचालित भए । तर, स्थानीय त्यसबेला चकित परे, जब प्रहरीले नक्कली दुर्घटना गराइएको हो भन्यो ।
विमानस्थल सुरक्षागार्ड प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सन्दीप भण्डारीका अनुसार विमान उडाउनेदेखि लिएर दुर्घटना गराउनेसम्मका सबै कार्य नियोजित र नक्कली थिए ।
उहाँका अनुसार विमान दुर्घटना भए कसरी उद्धार गर्ने भनेर अभ्यासका लागि पुर्व निर्धारित कार्यक्रम अनुसार यस्तो गरिएको थियो ।
‘सर्च एन्ड रेस्क्यु’ अभियानअन्तर्गत विमानस्थल र प्रहरीले संयुक्त रुपमा यो अभ्यास गरेका हुन् । एसएसपी भण्डारीका अनुसार विपद् व्यवस्थापन गर्न सजिलो होस् भनेर पूर्वअभ्यास भएको हो ।