काभ्रेपलाञ्चोक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेल परिसरमा नवनिर्मित भवनहरुको बुधबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो ।

उक्त अवसरमा उहाँले नवनिर्मित २ वटा व्यारेक भवन, हिरासत भवन, सिनियर प्रहरी अधिकृत आवास र मेसको उदघाटन गर्नुकासाथै उक्त भवनहरुको निरीक्षण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा योगदान पुर्‍याउने सिर्नजी घिसिङ–ब्राइट जेभि काठमाडौंका प्रोप्राईटर उपेन्द्र कुमार घिसिङ, बनेपा नगरपालिकाका ८ का पुरुषोत्तम कायस्थ,

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरी, प्रहरी निरीक्षक दिपक कुमार राय, प्रहरी हवल्दार गंगा प्रसाद दंगाल, प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान कमल पुर्वछाने मगरलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि समाजले अहम भूमिका खेलिरहेको चर्चा गर्दै समाजमा शान्ति सुरक्षा,

अमनचयन कायम गर्ने तथा अपराध नियन्त्रण र अनुसन्धानको साथै कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समुदाय–प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

 

सो अवधारणा अन्तर्गत आपराधिक क्रियाकलाप, महिला हिंसा, लागूऔषध दुर्व्यसन, साइबर अपराध, व्यक्तिगत सुरक्षा, सडक सुरक्षा लगायतका विषयहरुमा समाजका अगुवाहरुसँग समन्वय गर्दै अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

नेपालको मौलिक परिवेश, समाज, वातावरणको अध्ययन विश्‍लेषण गरी अवधारणा ल्याइएको जनाउँदै उहाँले यसको प्रभावकारिता र हालसम्म प्राप्त उपलब्धिबारे प्रकाश पार्नुभयो ।

अवधारणालाई संस्थागत रुपमा विकास गरिने उहाँले उल्लेख गर्नुभयो । गलत क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरुलाई कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनाल भन्नुभयो, ‘मूलभूत रुपमा हामी
पारदर्शी र नागरिकमैत्री हुन चाहन्छौं ।’

सबै प्रहरी कर्मचारीहरुले कानुनी कठोरताकासाथ विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो । सुरक्षा सँगसँगै विकास निर्माणका काम पनि अगाडि बढ्नुपर्ने बताउँदै

प्रहरी महानिरीक्षक खनालले विकास निर्माणका काम कुनै पनि कारणले रोकिन नहुने भएकोले सबै सरोकारवाला निकायहरुले एकआपसमा समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

समाजलाई प्रविधि तथा साधन स्रोतयुक्त बनाउँदै लैजानुपर्ने कुरामा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण र अनुसन्धान गर्नका लागि मात्र नभई विकास निर्माणमा बाधकतत्व पहिचान गर्नका लागि सिसिटिभी उपयोगी रहेको बताउनुभयो ।

सरुवा बढुवा लगायत हरेक काममा संगठनले गति लिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको उत्कृष्ट कामको कारण हालै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भएको उल्लेख गर्नुभयो ।

समारोहमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्‍चात उत्कृष्ट सेवा प्रवाह गर्न थप उर्जा प्राप्त भएको विचार व्यक्त गर्नुभयो ।

समारोहमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सिनाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रबिराज खड्काले स्वागत मन्तब्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेट तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा कूल ६ करोड ८४ लाख २० हजार ८ सय ३४ रुपैयाँ १७ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो ।

समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति, जिल्लास्थित नगरपालिकाका प्रमुखहरु तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु,

सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी एवम् वरिष्ठ प्रहरी अधिकृत तथा जिल्ला मातहत कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस्तै, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी कर्मचारीहरुले कठोरताका साथ कानून कार्यान्वयन गर्दै विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहत कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बुधबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

आर्थिक अनियमिततामा शून्य शहनशीलता अपनाउनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले संगठनले अंगिकार गरेको १० बुँदे प्राथमिकताहरुलाई अक्षरस कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

हाँसेर भन्दा पनि प्रहरीले नागरिक सामु उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै आफ्नो आचरण एवम् व्यवहारको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै प्रहरी महानिरीक्षक खनालले संगठन सुदृढिकरणको लागि सवै दर्जाका प्रहरी कर्मचारीहरुले आ–आफ्नो भूमिका उत्कृष्ट तरिकाले निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु