काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो । आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त हुनुभएको छ ।

सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुनुहुन्छ । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त हुनुभएको छ ।

आयोगका नवनियुक्त पदाधिकारीले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष सिंहलाई सपथ गराउनुभयो ।

त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य धिताल, कलवार, खतिवडा र भट्टराई ९ज्ञवाली०लाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताउनुभयो ।

सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत् नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो । आयोगले विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा

विद्युत् खरिद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ । आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहेको छ । रासस

सम्बन्धित खबरहरु