काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी जेठ ३ गते जनसंगठनको एकता घोषणा गर्ने भएको छ । उक्त दिन बाँकी रहेका सबै एकताका काम पुरा भएको घोषणा समेत गर्ने तयारी पूरा भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

महासचिव पौडेलका अनुसार जननेता मदन भण्डारी र कुसल संगठन जीवराज आश्रितको २६ औं स्मृति दिवस तथा पार्टी एकताको एक बर्षको अवसरमा जेठ ३ गते तात्कालिन एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा आयोजना हुने कार्यक्रममा जनसंगठनसहित एकताको बाँकी कामको टुंगो लागेको घोषणा हुनेछ ।

‘गत बर्ष मदन आश्रित स्मृति दिवसमा हामीले दुई पार्टीबीच एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा तीन महिनाभित्र सवै तहको एकताको टुंगो लगाउने घोषणा गरेका थियौं, तर अझै हुन सकेको छैन, हाम्रा दुवै अध्यक्षहरुले जेठ ३ मा एकताको बाँकी काम सम्पन्न हुन्छ भन्नुभएको छ,

समयको चाप महसुस गरी काम गर्ने नेतृत्वको बानी पनि रहेकोले जेठ ३ गते मदननगर बल्खुमा आयोजना हुने कार्यक्रमबाट जनसंगठनसहित एकताको बिषयमा महत्वपुर्ण घोषणा हुन्छ,’ पार्टी कार्याल्लय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा महासचिव पौडेलले भन्नुभयो ।

गत बर्षको जेठ ३ मा एकता भएको नेकपाको जनसंगठनको एकता, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय र बिभाग गठन हुन सकेको छैन । यसबीचमा प्रदेश कमिटी, जिल्ला मकिटी र जिल्ला कमिटी मातहतको स्थानीय कमिटीहरुको एकता भने भइसकेको छ । महासचिव पौडेलले सोही अनुसार जेठ ३ गते एकताको काम टुंगो लगाएर महत्वपुर्ण घोषणा हुने जानकारी दिनुभयो ।

नेकपाले जेठ ३ मा मदननगर बल्खुमा नै कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । सो कार्यक्रममा सहभागी हुन नेकपाले सवै नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले दिनुभएको जानकारी कार्यक्रमको तयारी जेठ २ गते नै सम्पन्न गरिनेछ । एकताका लागि सबै तहको भागबण्डापनि पुरा भएका कारण यो तयारी पूर्ण रुपमा पूरा भएको उहाँको भनाई छ ।

सम्बन्धित खबरहरु