काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताउनुभएको छ । साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीको ओलीले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा भियतनामको हनोइमा प्रधानमन्त्री फुकसँग नेपाल र भियतनामबीच परम्परागत रुपमा रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सहमति भएको छ । विज्ञप्तीमा जनाइए अनुसार  कूटनीतिक राहदानी र सरकारी राहदानी वाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
त्यसैगरी कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुनसेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको छ।भेटका अवसरमा नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।कम्बोडियाका प्रधानमन्त्रीले गत नोभेम्बर २०१८ मा गर्नु भएको नेपालको औपचारिक भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको छ।
 प्रधानमन्त्री ओली  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा जानुभएको थियो ।
विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ ।
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया अधिराज्यको भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी
प्रेश नोट
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री महामहिम ङुयेन स्वन फुक को मैत्रीपूर्ण निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २६-३० वैशाख सम्म मैले समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री महामहिम साम्दे अक्का मोहा सेना पदै टेचो हुन सेन को निमन्त्रणामा ३० वैशाख देखि १ जेष्ठ २०७६ तदनुसार १३-१५ मे २०१९ सम्म कम्बोडिया अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्केको छु।
यस भ्रमणका सम्बन्धमा नेपाली राजदूतावास, बैंककबाट जारी भएका प्रेस विज्ञप्तिहरू तथा भ्रमणदलमा संलग्न सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित  समाचारबाट  जानकारी भएकै छ।त्यसैगरी दुई मुलकका राजधानीहरूबाट जारी गरिएका संयुक्त वक्तव्यहरूबाट पनि भ्रमणका क्रममा भएका मुख्य उपलब्धीहरूको जानकारी भएकै हुनुपर्छ। तथापि, यस भ्रमणका मुख्य मुख्य गतिविधिहरू तथा प्राप्त उपलब्धीहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न चाहन्छु।
हनोईमा भियतनामका प्रधानमन्त्री महामहिम फुकसँग नेपाल भियतनामबीच परम्परागत रूपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। उक्त वार्तामा नेपाल भियतनाम द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा सारभूत छलफल भएको र द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण समझदारी भएको छ।दुई देशबीच विद्यमान सुमधुर राजनीतिक सम्बन्ध  सुहाउँदो ढङ्गबाट दुई देशबीचको आर्थिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षले व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्कको क्षेत्रमा गहन रूपले सहकार्य गर्ने समझदारी बनेको छ। प्रतिनिधिमण्डलस्तरको वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा निम्नानुसारका समझदारी पत्रहरूमा हस्ताक्षर भयोः(
  •  कूटनीतिक राहदानी र सरकारी राहदानी  वाहकहरूलाई भिसा छुट गर्ने
  • परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने
  • नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी  आशयपत्र
  • भियतनामको औपचारिक भ्रमणको अर्को पाटो १६औं “संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय वैशाख दिवस” मा नेपालको प्रतिनिधित्व गर्नु रहेको थियो। भियतनामको हा नाम प्रान्तमा आयोजित सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री, म्यानमारका राष्ट्रपति, भारतका उप-राष्ट्रपति, भुटानका सभामुख लगायतका ११२  मुलुकका अति विशिष्ट व्यक्तिहरू, बौद्ध विद्वानहरू, भिक्षु एवं जनसाधारण समेत करिब २० हजार सहभागीहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिको रूपमा सम्बोधन गर्दै वर्तमान सन्दर्भमा गौतम बुद्धका शास्वत उपदेशहरू र  दिगो समाज निर्माणमा विश्व नेतृत्वको भूमिकाका सन्दर्भमा आफ्नो मन्तव्य राखेँ।

बुद्ध, लुम्बिनी र बौद्ध दर्शनलाई एक अर्काबाट छुट्याउन नसकिने हुँदा लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बौद्ध दर्शनको पनि उद्गमस्थल रहेको धारणा सशक्त रुपमा प्रस्तुत गरेँ। साथै, अनुकूल समयमा नेपालले लुम्बिनीमा संयुक्त राष्ट्रसंघ वैशाख दिवस र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने प्रस्ताव सो सम्मेलनमा राखेको छु। सोही अवसरमा लुम्विनीलाई अन्तर्राष्ट्रिय शान्ति नगर बनाउने उद्देश्यले लुम्बिनीको विकासमा नेपाल सरकारले गरिरहेको प्रयासहरूको बारेमा जानकारी गराएँ र सो कार्यमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान पनि गरेँ।

यो सम्मेलनमा नेपालको उच्च सहभागिता र प्रस्तुतिले विश्व समुदाय समक्ष बौद्ध दर्शन लुम्बिनीको महत्व र नेपालको छवि बारे थप प्रष्ट पार्न सघाएको अनुभूति गरेको छु। नेपाली प्रतिनिधिमण्डलले भियतनामको सर्वोच्च जनप्रतिनिधि संस्था राष्ट्रियसभा (संसद) का अध्यक्ष (सभामुख) म्याडम ङुयेन थिङ किमसँग दुई संसद र दुई देशका जनताबीच जनस्तरको सम्बन्ध विस्तार लगायतका बिषयहरूमा विस्तृत छलफल गर्यौं र उक्त सम्मेलनमा सहभागी हुन पाल्नु भएका विशिष्ट अतिथिहरूको सम्मानमा उहाँले आयोजना गर्नु भएको रात्रीभोजमा सरिक भएँ। सो अवसरमा उपस्थित अन्य विशिष्ट व्यक्तित्वहरूसँग अनौपचारिक छलफल गर्ने अवसर समेत प्राप्त भयो।

त्यसैगरी कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुन सेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको छ।भेटका अवसरमा नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। दुई देशका प्रधानमन्त्रीहरूका बीचमा एक बर्षमा तीन पटक भेट भएको स्मरण गर्दै ती भेटघाटहरूबाट द्विपक्षीय सम्बन्धलाई गति दिन तथा नयाँ उचाईमा पुर्याउन मद्दत पुगेकोमा हामीले सन्तोष व्यक्त गर्यौं।कम्बोडियाका प्रधानमन्त्रीले गत नोभेम्बर २०१८ मा गर्नु भएको नेपालको औपचारिक भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको छ।
हनोई र नोम पेन्ह दुवै राजधानीहरूमा नेपाली र ती मुलुकका उद्यमी व्यवसायीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालले हासिल गरेको राजनीतिक स्थायित्वले लगानीमैत्री वातावरण तयार भएकोले पूर्वाधार विकास लगायत नेपालको अर्थतन्त्रका उत्पादनशील क्षेत्रहरूमा लगानी गर्न आह्वान गरेको छु।सरकारले विकासका लागि लिएको स्पष्ट नीति, लगानीमैत्री वातावरण वनाउन चालिएका नीतिगत, कानूनी तथा संस्थागत सुधारका पक्षमा प्रकाश पार्दै नेपालमा वैदेशिक लगानीको पूर्ण सुरक्षा हुने गरी सम्भाव्य लगानीकर्ताहरूलाई आश्वस्त पारिएको छ।नोम पेन्हमा भएको कार्यक्रममा प्रधानमन्त्री हुन सेन स्वयम उपस्थित भएर कम्बोडियाका लगानीकर्ताहरूलाई नेपाललाई प्राथमिकताका सूचीमा राख्न आह्वान गर्नुभएको छ। दुवै प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा सम्बोधन गरिएको उक्त कार्यक्रममा नेपाल र कम्बोडियाको निजी क्षेत्र र उद्यमी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
छ। भियतनामको राष्ट्रिय सभाका अध्यक्ष ङुयेन थिङ किम तथा कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष हेङ सामरिन एवं सिनेटका अध्यक्ष एवं कार्यवाहक राष्ट्राध्यक्ष से चुमसँगको भेटघाटमा ठूलो द्वन्द्वबाट पीडित भियतनाम र कम्बोडियाले छोटो समयमा हासिल गरेको प्रगति उदाहरणीय रहेको र द्वन्द्वबाटै गुज्रेको नेपालले यसबाट सिक्न सक्ने धेरै कुराहरू रहेको सन्दर्भमा चर्चा भयो। नेपालले हासिल गरेको युगान्तकारी राजनैतिक उपलब्धीहरू र ती उपलब्धीहरूलाई संस्थागत गर्ने नयाँ संविधान र राजनैतिक स्थायित्वको दिशामा अगाडि बढिरहेको नेपालको समसामयिक अवस्थाबारे दुवै पक्षलाई राम्ररी अवगत गराएको छु।साथै, दुवै मुलुकहरूसँग रहेको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गराउन विधायिकाहरूबीचमा आपसी सहयोग र सहकार्य हुनुपर्ने आवश्यकताका सम्बन्धमा समेत छलफल भएको छ।
हनोई स्थित प्रतिष्ठित हो चि मिन्ह राष्ट्रिय राजनीति प्रतिष्ठान (नेशनल एकेडेमी अफ पोलिटिक्स) मा क्रान्तिकारी, राष्ट्रभक्त, समाजवादी एवं भियतनामका पूर्व राष्ट्रपति हो चि मिन्हका विचाधाराहरूको सान्दर्भिकताको विषयमा बिद्वान, बुद्धिजिवी, निजी क्षेत्र, सञ्चार लगायतका क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको एक सभालाई सम्बोधन गरेँ।स्वतन्त्रता, स्वाधीनता एवं राष्ट्रिय अखण्डताका पक्षमा वहाँको विशिष्ट योगदान रहेको र यसबाट विश्वका करोडौं मानिसहरू अभिप्रेरित भएको धारणा राखेँ। साथै, भियतनाम युद्धमा भियतनामी जनताको पक्षमा नेपाली जनताले देखाएको ऐक्यबद्धता र सहयोगको स्मरण पनि गराएँ।उहाँको सादा जीवन, कर्तव्यपरायणता र राष्ट्रप्रेमबाट हामीले सिक्नुपर्ने धेरै कुराहरू रहेको बिषयमा चर्चा गरेँ।हनोईमा रहँदा उहाँको समाधीमा पुष्पार्पण गर्ने र वहाँले पछिल्लो समय बिताउनु भएको आवासको पनि अवलोकन गर्ने अवसर प्राप्त भयो।भ्रमणको अभिन्न अङ्गको रूपमा रहने राष्ट्रिय शहिदहरूलाई सम्मान  गर्ने प्रचलित कार्यक्रम अनुसार दुवै राजधानीहरूमा राष्ट्रिय व्यक्ति तथा शहिदहरूप्रति श्रद्धा प्रकट गरेँ।
ठ। भियतनामी भिक्षुद्वारा भियतनामी भाषामा नेपालका बारेमा रचित ल्भउबस् िएभबअभ बत जबलमक शिर्षकको पुस्तक विमोचन गर्ने अवसर प्राप्त भयो। यस पुस्तकबाट भियतनाममा नेपालको राम्रो प्रचार हुन गई नेपालको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने विश्वास लिएको छु। उक्त कार्यक्रममा पनि लुम्बिनी, बुद्ध र बौद्ध दर्शनका बारेमा हाम्रो स्पष्ट धारणा राख्ने अवसर प्राप्त भयो।
यस भ्रमणको अवसरमा भियतनाम र कम्बोडियामा विभिन्न पेशा व्यवसाय गरी बसोबास गरिरहनुभएका नेपालीहरुसँग पनि भेटघाट तथा छलफल भयो।कम्बोडियामा रहेका गैर आवासीय नेपालीहरूले आयोजना गरेको स्वागत समारोहमा सरिक भई उहाँहरूलाई देशको आर्थिक सामाजिक विकासमा देश भित्र वा बाहिर रही योगदान गर्न आह्वान गरेँ।
समग्रमा, द्वन्द्वोत्तर परिवेशमा दक्षिण पूर्व एसियामा उदाउँदो अर्थतन्त्रको रूपमा रहेको भियतनाम र तीब्र गतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा भएको नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपाल र ती दुई मुलुकहरूबीचको समग्र सम्बन्धलाई मजबुत बनाउन मद्दत पुगेको छ।आर्थिक सम्बन्धलाई विस्तार गर्ने नयाँ अवसरहरू प्राप्त भएका छन्।
बौद्ध दर्शनमा आधारित सांस्कृतिक सामाजिक सम्बन्धले बुद्धको जन्मस्थल नेपाल र बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य संख्या रहेको ती मुलुकहरूलाई अझ नजिक ल्याउन मद्दत पुगेको छ।द्वन्द्वबाट छिया छिया भएका मुलुकहरूले छोटो समयमै प्राप्त गरेका उपलब्धीहरूलाई नजिकबाट नियाल्ने र असल अभ्यासहरू बारे जानकारी लिने अवसर प्राप्त भएको छ।साथै, द्विपक्षीय छलफलका क्रममा समसामयिक विश्व परिस्थिति र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका साझा मुद्दाहरूमा भएको विचारको आदान प्रदानबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ती मुलुकहरूबीच सहकार्य र सहयोग विस्तार गर्ने थप अवसर प्राप्त भएको छ।
लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन यस भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको छ।आगामी दिनहरूमा हाम्रा प्रयासहरूले सार्थक गति लिने विश्वास लिएको छु।दुवै देशका प्रधानमन्त्रीहरूले लुम्बिनीको भ्रमण गर्ने इच्छा व्यक्त गर्नु भएको छ।जनस्तरमा पनि लुम्बिनी प्रतिको ज्ञान र चेतनामा अभिवृद्धि हुनुका साथै आकर्षण पनि बढ्न गएको महसुस गरेको छु।
मुलुकले हासिल गरेको ऐतिहासिक राजनीतिक रूपान्तरण र राजनीतिक स्थायित्वको जगमा तीव्र आर्थिक रूपान्तरण हासिल गर्नु र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्नु यति बेलाको हाम्रो एक मात्र उद्देश्य हो।यसका लागि अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति निर्माण गर्नु हाम्रो वाह्य सम्बन्धको सार हो र विदेश नीतिको मुख्य पक्ष पनि यही हो।सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मूल नीतिमा आधारित रहेर नेपालले यतिबेला वाह्य सम्बन्धहरूमा सक्रिय अग्रसरता प्रदर्शन गरिरहेको छ र यसले वाह्य जगतमा नेपालको छवि उदाउँदो अर्थतन्त्र, स्वाभिमानी राष्ट्र र ऊर्जावान एवं कर्मशील नागरिकहरूको देशको रूपमा उज्यालो बन्दै गएको छ।यी भ्रमणहरूले यसमा अझ बल पुर्याएको मैले ठानेको छु।
मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, संघीय संसदका सदस्यहरू, नेपाल सरकारका सचिवहरू, भियतनाम एवं कम्बोडियाका लागि नेपाली गैर आवासीय राजदूत, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू एवं परराष्ट्र मन्त्रालय तथा बैंककस्थित नेपाल राजदूतावासका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरू तथा सञ्चारकर्मीहरू रहनु भएको थियो।
मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यको लागि म भियतनाम र कम्बोडिया सरकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित खबरहरु