धनकुटा । महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउ बस्ने २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको चक्कु प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँ बस्ने २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवन गरी सामान्य बिवादको कारण चक्कु प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घनेन्द्रलाई चक्कु सहित पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित चार नम्बरको ढाटमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख रुपैयाँ बराबरको ४२ बण्डल कपडा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा सघींय प्रहरी इकाई कार्यालय जनकपुर र प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा र कपडा ल्याउन प्रयोग गरिएको बिआर ०१ बियु १६१४ नम्बरको मोटरसाइकल छाडेर मानिस फरार भएकोले मोटरसाइकल सहित उक्त समान प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सुर्खेतको पञ्चपुरी नगरपालिका-७ जंगलघाटस्थित जंगलबाट शनिबार दिउँसो बेवारिसे अवस्थामा फेला परेको भरुवा बन्दुक १ नाल बरामद भएको छ । स्थानीयबासीले उक्त ठाउँमा बन्दुक फेला पारी प्रहरी चौकी डाँडाछाप्रेबाट समुदाय(प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम गर्न गएको प्रहरीलाई बुझाएका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११,२८ र २९ तथा महानगरीय प्रहरी वृत्त सिंहदरबारको संयुक्त आयोजनामा कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले शान्त, सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना भएकोले प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताउनुभयो ।

अपराधको प्रवृत्ति परिवर्तन भइरहेको तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले अन्तरक्रियाको क्रममा उठेका सवालहरुको समेत सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र समाजसेवी हरिप्रिया पाण्डेले समेत मन्तव्य व्यक्त गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रमले समाजमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

काठमाडौं महानगरपालिका-११ का वडा अध्यक्ष हिरालाल तण्डुकारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक काजी कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अधिकृतहरु, स्थानीय निकायका पदाधिकारीहरु, विभिन्न सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भरतले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु