काठमाडौ । विभिन्न ठाउँमा बम विस्फोटका घटना सार्वजनिक हुन थालेपछि सरकार एक्सनमा उत्रिएको छ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।

काठमाडौंको दुई स्थानमा आज विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरुले घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिका विवरण, घटनास्थलको अवस्थालगायतका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए । यो बिचमा काठमाडौंका अन्य विभिन्न क्षेत्रहरुमा बम विष्फोटका घटना सार्वजनिक भइरहेका छन् ।

गृहमन्त्रालयले सर्वसाधारणको दैनिकीमा असर नपरोस् भनेर सुरक्षा व्यवस्था मजबुद पार्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणको दैनिकीमा कुनै असर नपरोस् र शान्ति सुरक्षाको व्यवस्थामा खलल नपुगोस भनेर सोही अनुसारको व्यवस्था मिलाउन सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन लिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘आज अपरान्हदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हिसांत्मक गतिविधि भएका छन्, यस्तो कार्यमा संलग्न व्यक्ति र समुहको पहिचान भइसकेको छ, त्यसैले सुरक्षा व्यवस्था मजवुद बनाउन र सर्वसाधारणको दैनिकीमा असर नपरोस भनेर सुरक्षा व्यवस्था मिलाउन सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेका छौं,’ प्रवक्ता सुवेदीले शिलापत्रसँग भने ।

सरकारले सवै सुरक्षा संयन्त्रलाई उच्च शतर्ककता अपनाउन निर्देशन दिएको छ । यता नेपाल प्रहरीले पनि उच्च सुरक्षा शतर्कता अपनाएको छ । हिसांत्मक गतिविधि नहोस् भनेर सुरक्षा शतर्कता अपनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

कहाँ चुक्यो सरकार ?

सरकारले फागुन अन्तिम सातादेखि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका राजनीतिक क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव नेकपामाथि प्रतिवन्ध लगाएदेखि नै सत्तारुढ दलमा केही मतभेद देखिएको पनि थियो ।

सरकारले प्रतिवन्ध लगाएदेखि नै सरकार विरुद्ध आक्रामक देखिएको विप्लव समुहले हिसांत्मक गतिविधिको धम्की दिएको थियो । उसका हिसांत्मक गतिविधि बढेको भन्दै सरकारले प्रतिवन्ध लगाएको थियो ।

सरकारले प्रतिवन्ध लगाउनु अघि र लगाइसकेपछिका पनि हिसांत्मक गतिविधिको विप्लव समुहले औपचारिक जिम्मेवारी लिएको छैन । आज (१२ जेठ) मा काठमाडौंको सुकेधारा र अनामनगर बम विस्फोटको औपचारिक जिम्मेवारी पनि उसले लिएको छैन । यस्तै काठमाडौं उपत्यकाका अन्य विस्फोट र बम आतंकको पनि विप्लव समुहले जिम्मा लिएको छैन ।

तर, सरकारले यी सवै घटनामा विप्लव समुहको संलग्नताको आरोप लगाएको छ । हिसांत्मक गतिविधि बढे भनेर जुन समुहमाथि प्रतिवन्ध लगाइयो, सोही समुहले गर्न सक्ने क्रियाकलाप नियन्त्रणको लागि सरकारी प्रयास भने लगभग असफल देखियो ।

गृह प्रवक्ता सुवेदी घरभित्रका क्रियाकलापलाई लिएर सरकारको असफलता मान्न नहुने दावी गर्छन् । ‘सुकेधारमा सैलुन संचालक लिजकुमार ठाकुरको भान्सामा बम विस्फोट भयो, अनामनगरमा लोकमञ्जरीको घरमा २ महिनादेखि भाडामा बस्दै आएका प्रज्वल शाहीको संलग्नता देखियो, यी दुबै घटना घरभित्रका हुन्,

सरकारले घरभित्रका क्रियाकलापको निगरानी गर्न गाह्रो हुन्छ, त्यसैले सर्वसाधारणले पनि सुरक्षा सतर्कता अपनाउनु पर्यो, कस्तो मान्छेलाई भाडामा राखेको छु भनेर गतिविधिको रेखदेख पनि गर्नुपर्यो,’ प्रवक्ता सुवेदीले भने । उनले जस्तोसुकै तर्क गरेपनि आजको घटनाले सुरक्षा संयन्त्र भने असफल जस्तै देखिएको छ ।

सम्बन्धित खबरहरु