काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी नायिका तथा नेतृ करिश्मा मानन्धरले राजनीति छोडेकी छिन् । डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दै गर्दा अभिनेत्री करिश्मा मानन्धरको अनुहारमा चमक, मनमा देश समाज बदल्ने संकल्प थियो ।

उनी बौद्धिक मानिएका बाबुरामको पार्टीमा प्रवेश गर्दै गर्दा उनमा देखिएको राजनीतिक रुची निकै हेर्न लायक देखिन्थ्यो । नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँसम्म पुगेकी छिन् ।

उनले जनतालाई देश बदल्ने शक्ति राजनीति भएको बताउँदै हिंडिन् । तर उनै करिश्माको अनुहारमा अहिले न राजनीतिमा रस छ, न त जाँगर नै देखिन्छ । उनले पछिल्लो समय बरु निरासा मात्र पाउँनु परेको छ ।

उनको हिजोको जोश–जाँगर अहिले निरासामा परिणत भएको छ । नायिका मानन्धरले नेपालको राजनीति एकदमै वुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् ।

उनको यो भनाईले डा।बाबुराम भट्टराईको साथ छोडेको छनक दिएको छ । उनले राजनीतिमा पोजिसन बिना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने समेत बताएकी छिन् ।

चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।

व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ । करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

सम्बन्धित खबरहरु