काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनुभयो ।

“देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गर्नुभयो ।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उहाँको भनाइ छ । अध्यक्ष दाहालले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताउनुभयो । सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उहाँको भनाइ थियो । सङ्घीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्यौलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ खेलकूद विकास समितिका अध्यक्ष धुव्र न्यौपानेले खेलकूद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

नेपाल वादोरियो कराते सङ्घका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराते सङ्घले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

४९ जिल्लामा आफ्नो सङ्घ स्थापना गरेर खेलाडी उत्पादन गर्दै आएको उहाँको भनाइ छ । विसं २०६२ मा स्थापना भएको सङ्घले मुलुकको कराते क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गर्नुभएको थियो । रासस

सम्बन्धित खबरहरु