काठमाडौं । खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ ।

खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गर्नुभएको हो ।

दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् ।

मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो त हामीले सुरुवात मात्र गरेका हौं । महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौं ।’

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ ।

यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ ।

छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताउनुभएको हो ।

महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उहाँले महिलाहरुमाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पु(याउने गरेको बताउनुभयो ।

मन्त्री मगरले भन्नुभयो, ‘ महिनावारी त मानव सृष्टिको लागि हुने नियमित प्रक्रिया हो । तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौं । महिनावारीप्रति रहेको हाम्रो गलत धारणा तुरुन्त परिवर्तन गर्नुपर्छ । यस्तो विभेद घर, गाउँ र समाजबाटै अन्त्य गर्ने अभियान चलाउनुपर्छ ।’

सम्बन्धित खबरहरु